प्रकाश सुपतको गीतमा आपत्ति मान्नु पर्ने कुरा छैन, तीतो सत्य स्विकारौँ : डा. भट्टराई

​​​​​​​काठमाडौँ । प्रकाश सुपतको ‘पीर’ नामक गीतमाथि माओवादी निकटस्थहरूले तिखो टिप्पणी गरिरहेका बेला जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको बताउनुभएको छ।

बरु उहाँले यो गीतले अपूर्ण क्रान्तिको पीडा दर्साएको र त्यस निम्ति क्रान्तिलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

गत शुक्रवार सार्वजनिक भएको गीतमा १० वर्ष सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएको छ । तत्कालीन अवस्थामा लडाइँमा होमिएका छापामारको पीडा गीतमा पोखिएको छ ।

यो गीतमा वैदेशिक रोजगारीको पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएको छ । तर, यसमाथि टिका टिप्पणी भइरहेका बेला पूर्व माओवादी समेत रहनुभएका नेता डा.भट्टराईले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो  ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, “म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्साएको छ। त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो ।गीतका सर्जकलाई किन धम्काउने ?”

उहाँ आज सामाजिक सञ्जाल ट्विटरमार्फत अर्को ट्विट गर्दै “‘तथ्यबाट सत्य खोज’ मार्क्सेली चिन्तन पद्धतिले भन्छ ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु–महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन् ।हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्! तीतो सत्य स्वीकारौंः समाधान खोजौंः @PrakashSaput लाई नसरापौँ ”, भन्नुभएको छ । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ३३ बजे