प्रेस चौतारी नेपालको महाधिवेशनमा ११ जना पत्रकार सम्मानित

​​​​​​​​​​​​​गण्डकी । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट विभिन्न ११ जनालाई सम्मान गर्नुभएको छ । 

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरा सभागृहमा भएको उद्घाटन समारोहमा उहाँले नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

सो अवसरमा हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार–२०७७ बाट सङ्गठनका पूर्व अध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट पूर्व अध्यक्ष गगन विष्ट सम्मानित हुनुभएको थियो । 

त्यस्तै संस्थाद्वारा सञ्चालित अग्निशिखा पत्रकारिता पुरस्कार–२०७७ बाट कृष्ण विनोद लम्साल र २०७८ बाट राजनीतिक विश्लेषक तथा पत्रकार झलक सुवेदीलाई प्रदान गरियो ।

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार–२०७७/०७८ बाट क्रमशः सागर पण्डित र हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार केपी गौतम र अनुप तिवारी, चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाई सम्मान गरियो । 

त्यस्तै पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरस्कारबाट अब्दुलाह मियाँ र शिवराज भट्टलाई प्रदान गरिएको महाधिवेशन मूल आयोजक समितिका संयोजक एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।​​​​

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : ३९ बजे