‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रदेश नं १ को नाम सप्तकोशी राख्न सकिने औचित्य तथा आधारहरू

हाम्रो देश नेपाल र नेपाली समाज सनातन धर्म, संस्कृति र अति प्राचीन मानव सभ्यताको अनुपम जगमा उभिएको छ । विश्वका प्राचीन सभ्यता र ती सभ्यताको जगमा विकास भएका अन्य राष्ट्रहरूभन्दा यो भूमिले पृथक् पहिचान बोकेको छ । पृथ्वी सृष्टि संरचना, मानव सृष्टि र मानव सभ्यता यो भूमि र हामी  अति प्राचीन काल देखि नै थिए र थियौँ भन्ने अनेकौँ मानव शास्त्रीय र ऐतिहासिक प्रमाणहरू छन् ।

हजारौँ हिमशृङ्खला र शिखरहरू, अधित्यका, उपत्यका, पहाड, बेसी र फाँटहरू, मैदान तराई तथा सयौँ नदी—नाला एवं महानदीहरूको अपार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो दिव्य भूमिमा र सरिताका किनारहरूमा प्राचीन पूर्वजहरूले सभ्यता, संस्कृति निर्माण र विकास गरेर हामीलाई दिएका हुन् । पशुचारी एवं यायावरीय जीवनलाई नदीहरूका किनारहरूमा बिसाएर हाम्रा पूर्वजहरूले आफ्ना अमूल्य अनुभूति ज्ञान, विज्ञान कलालाई सभ्यताको रूपमा सजाएका थिए । 

सामाजिक, धार्मिक र जातीय सहिष्णुता, विविधता र सांस्कृतिक समन्वयको बलियो जगमा उभिएको नेलाली समाज बहु जातीय, बहु धार्मिक, बहुभाषिक र बहु सांस्कृतिक हुनुमा गौरव गर्दछ । नेपाल राष्ट्र र नेपाली समाजले उच्च आचरण र आदर्शको अनुशीलन गर्दै आएको छ । हाम्रा ऋषि—मनिषीहरू र पूर्वजहरू प्राचीन सभ्यता संस्कृति निर्माणकर्ता मात्र थिएनन्, विश्वका लागि महान् र सफल अभियन्ता थिए । हिमालयको सभ्यता अति प्राचीन सभ्यता हो । यही सभ्यताले आदि कालदेखि नै पाशुपत सभ्यताको समेत प्रतिनिधित्व गरिरहेको छ । प्राचीन युगमा रोम, ग्रीक, युनान आदि सभ्यता निर्माण हुनुभन्दा पूर्व नै यो हिमालयीय सभ्यताको सम्पन्नता विश्वका कुना कुनामा गाइन्थ्यो । यो सभ्यताले भगवान् शिवको संरक्षणमा शिवका पार्षद् नन्दी र नन्दी गणको नेतृत्वमा प्राप्त गरेको सम्पन्नता र नन्दीको शौर्य पराक्रमलाई मन पराएर ग्रीक, युनानी र रोमवासीहरूले आफ्नो सभ्यता निर्माणको प्रारम्भमा हिमालयीय सभ्यताबाट प्रभावित भई शिवसँग नन्दीको प्रतीक मागेर लगेका थिए भने सिन्धु घाटीको सभ्यता निर्माण पूर्वदेखि नै भगवान् शिवसँग नन्दीको पूजा महिमा आष्ट्रिक, द्रविड र किराँतहरूमा पनि कम थिएन । उनीहरूका मुख्य देवता शिव थिए भने नन्दी उनीहरूका वास्तुदेव थिए । 

हाम्रो पाशुपत क्षेत्रका नन्दी 
सिन्धु घाटी, द्रविड–अष्ट्रिकहरु र किराँतहरूका मूर्धन्य देवता हुँदै मिश्र, ग्रिस र युनानका विशाल महलहरूमा एपिक नामको साँढेको रूप धारण गरेर त्यहाँका निवासीहरूले उनलाई पखेटा लगाई दिन्छन् र बाबुलका जनकबिलाहरुमा घुम्दै निनब्बे, ओसिरीका महलहरूको रक्षकको रूपमा पंखधारी पुंगव, अपादानका खम्बाहरूमा विराजमान हुँदै त्यहाँका निवासीहरूले उनलाई मानवमुखी दाह्री लगाइदिन्छन् । मिश्रका गुम्बजदार अस्थिसंचयक पुण्यागार(पिरामिड), मिश्रका चमत्कारिक खम्बा र स्तूपहरू, पारसी–पोलिसका र बेहिस्तूनका स्मारकहरूमा तिनै नन्दी अशोकका विष्मयकारी स्तम्भमा विकसित भएको इतिहास साक्षी छ । यसलाई सम्राट अशोकद्वारा लुम्बिनीमा स्थापित गरिएको अशोक स्तम्भमा देख्न सकिन्छ । यो संस्कृति र सभ्यता निर्माण र विकासको एउटा अनुपम उदाहरण हो ।  

आजको मध्य एसिया, दक्षिण एसियाको उत्तर पूर्वी समुद्रका किनार र उत्तर हिमालयका काखमा मङ्गोलीयन र म्न्खमेर (किराँत) सभ्यताको उदय र विकास भइसकेको थियो । त्यस समयमा (किराँत म्न्खमेर) र मंगोलियनहरूका देवाधिदेव महादेव शिवको सान्निध्यमा पाशुपत खण्डको दक्षिण पूर्वी मैदानमा इषीरथ र त्यसको पश्चिमी मैदानी भागमा महान् मनीषि पुलह, और्व, भृगु आदि ऋषिहरू कौशिकी र गण्डकी सभ्यताको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै थिए । इषीरथ–कुशिक वंशका विश्वामित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो । 

ब्रह्म पुराणमा यसरी लेखिएको छ :
‘गाधेः कन्या महाभागा नाम्ना सत्यवती शुभा ।  तां गाधि काव्यपुत्राय ऋचीकाय ददौ प्रभुः ।।                                          
ततःसत्यवती पुत्र जनयामास भार्गवम् । तपस्याभिरतं दान्तं जमदग्नि समात्मकम् ।।
कभृगोर्जगत्यां वंशेद्रमिन् जमदग्निरजायत । सा हि सत्यवती पुण्या सत्यधर्मपरायणा । 

कौशिकीति समाख्याता प्रवृतेयं महानदी । अर्थात् इषीरथ–कुशिक वंशका विश्वामित्रका पिता कान्यकुब्जपति गाधीले प्राचीन मनुभरत पुरुकुत्सकी कन्यासँग विवाह गरेका थिए । तीदेखि सत्यवती नामकी कन्याको जन्म भयो र ती कन्याको जमदग्नि ऋषिका पिता ऋचीकसँग विवाह भएको थियो । तिनै सत्यवतीको नामबाट आजको सप्तकोशीको नाम पनि सत्यवती राखिएको थियो । यो भूमिको नाम पनि सोही आधारमा सत्यवती राखिएको थियो । यहाँ यी श्लोकहरू प्रसङ्गवश उद्धृत गरिएको हो । अन्य सबैजसो इतिहास र पुराणादिमा यसरी नै वर्णन गरिएको छ । त्यस समयमा पाशुपत क्षेत्रको समेत नामकरण सत्यवतीका नामले आजको नेपालले ख्याति पाएको थियो । गाधीपुत्र विश्वामित्रका पुत्र गालब, संस्कृति, मधुच्छन्दा र अजीगर्तका छोरा शुनःशेफ आदि थिए । आफ्ना पुत्र र शिष्यहरूलाई साथमा लिएर कौशिकी सभ्यता सम्पन्न बनाउने महान् ऋषिहरू विश्वामित्र र जमदग्नि मामा भान्जा नेता थिए भने गालब शुनःसेफ आदि सहयोगी  थिए ।’ 

प्राग्वैदिक युगमा वर्तमान नेपाल भूमिको भौगोलिक संरचना हिमालय, नदीहरू, कबिलायी जन, जनगण ग्राम र जनपदमामा आधारित थियो । पछि कुल, गोत्र वंशमा विकास हुँदै वैदिक कालमा स्वराज्य, राज्य, गणराज्य  राष्ट्र राज्य, वैराज्य र साम्राज्य आदिमा विभाजित थियो । मध्य युगमा वंशीय, कलीय राज्यहरूमा विकास हुँदै नेपाल एकीकरणभन्दा पूर्व बाइसे चौबीसे र कहीँ कहीँ जातीय गणराज्य रहेका देखिन्छन् । नेपाल एकीकरणपछि मात्र राजनीतिक, प्रशासनिक एकाइहरू तीव्र रूपमा निर्माण र विकास भएको देखिन्छ । जहानियाँ निरङ्कुश राणा शासन, निरङ्कुश राजतन्त्र र पञ्चायती शासनको तीव्र दमन उत्पीडन र लोकतान्त्रिक सामाजिक परिवर्तनका आन्दोलनहरूको चेतनाले नेपाली जनतामा क्षेत्रीय जातीय जागरण पैदा भयो । लोकतन्त्र र सामाजिक परिवर्तनका आन्दोलनहरूको उठानसँगै जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक आन्दोलनहरू पनि सँगै उठेका थिए । त्यसलाई मत्थर बनाउनका लागि पञ्चायती राजतन्त्रले २००७ सालपछि राजनीतिक, प्रशासनिक भौगोलिक विभाजन गाउँ, जिल्ला, अञ्चल र क्षेत्रमा विभाजित गर्दा अधिकांश अञ्चल, जिल्लाहरू र गाउँहरूको नामकरण नदी, पहाड, पर्वत र धार्मिक सांस्कृतिक ऐतिहासिक सन्दर्भहरूलाई स्मरण गराउने र गौरुवबोध हुने गरी नै गरिएको थियो । तर पञ्चायती व्यवस्थाको अन्ततिर निरङ्कुश राजतन्त्रको तीव्र दमन उत्पीडनले जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक असन्तोषहरू व्यापक बन्दै गइरहेका थिए ।

२०४६ सालको संयुक्त जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था अन्त गरी बहुदलीय व्यवस्थाको स्थापना भयो । तर ती जन असन्तोषका मुद्दाहरू यथावत् नै रहेकाले तिनै असन्तुष्टिका जगमा २०५२ सालदेखि माओवादी युद्ध सुरु भयो र त्यसैलाई माओवादीले राजनीतिक शक्ति आर्जन गर्ने आधार बनायो ।  

२०६२÷०६३ सालको संयुक्त जनआन्दोलनको समयमा लोकतान्त्रिक गणतन्त्रको मुद्दा अहम् भएकोले जातीय, क्षेत्रीय मुद्दाहरू राजनीतिक आन्दोलनमा नै समेटिएका देखिन्थे । तर ती मुद्दाहरूमा बाह्य शक्तिकेन्द्रहरूको चलखेल भएकोले आन्दोलनको सफलतापछि पनि ती शक्तिका स्रोत र समर्थनमा मधेस आन्दोलन उठाइयो र त्यसका वरिपरि जातीय आन्दोलन पनि उठाइयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सँगै २०६४ सालको निर्वाचनद्वारा संविधानसभा निर्माण भयो र संविधान रचनाको क्रमसँगै अनेक जातीय, क्षेत्रीय, भाषिक र सांस्कृतिक प्रदेशहरू प्रस्तावित थिए । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका संविधान जारी गर्नु पूर्व जनआन्दोलनका प्रमुख राजनीतिक शक्तिहरूको सहमतिमा सात वटा प्रदेश बनाउने निर्णयसहित अङ्कमा प्रशासनिक भौगोलिक विभाजन गरी सबै प्रदेशहरूको नामकरण र स्थायी राजधानीको टुङ्गो गठन हुने प्रदेशसभाले गर्ने अधिकार संविधानले नै प्रदेशसभालाई प्रत्यायोजन गरेको हो । 

गत २०७४ सालको निर्वाचनभन्दा पूर्व नेपालका ठुला दुई वटा कम्युनिष्ट पार्टीहरू नेकपा (माओवादी) र नेकपा (एमाले) एकीकृत भई नेपाल कम्युनिष्ट पार्टीले उक्त निर्वाचनमा नेपालको राजनीतिक इतिहासमा नै प्रथम पटक दुई तिहाइको सरकार बनाउन सफल भयो । राष्ट्र, राष्ट्रियता स्वाभिमान र स्वाधीनताको आन्दोलनको इतिहासमा पनि नेपाली जनता र नेपाल राष्ट्रलाई एकताबद्ध बनाउन वर्तमान राजनीतिक नेतृत्व र सरकारले कुशल भूमिका निर्वाह गरिरहेको थियो । तर, त्यो एकता पनि तीन वर्ष बित्दा नबित्दै विभाजित हुन पुग्यो । यसले पनि प्रदेशको नामकरणमा भूमिका खेलेको छ । 

नेपालको संविधान २०७२ घोषणा हुनु पूर्व अस्थायी रूपमा अङ्कमा सम्बोधन गरिएका सात प्रदेशहरूको नामकरण र स्थायी राजधानीको टुङ्गो लगाउने  निर्णय छ वटा प्रदेशले कुशलतापूर्वक सम्पन्न गरेका छन् र प्रदेश नम्बर एकको निर्णय गर्न बाँकी छ । सुदूरपश्चिम प्रदेश बाहेक तीन वटा प्रदेशले प्राचीन सभ्यता संस्कृति र ऐतिहासिक महत्त्वलाई झल्काउने गरी नेपालका प्रसिद्ध नदीहरूको नाममा आधारित भएर प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएका छन् ।  पाँच नम्बर प्रदेशले पनि प्राचीन लुम्बिनी सभ्यता संस्कृति र महात्मा भगवान् बुद्धको महिमामा गौरवान्वित हुने गरी प्रदेशको नाम लुम्बिनी र नेपालको प्रकृतिको वरदान मानिने दाङ देउखुरीको अति सुन्दर भूमिमा राजधानी तोकेको छ । प्रदेश नम्बर दुई भनिएको प्रदेशले पनि मधेस प्रदेश नाम र जनकपुरधाम राजधानी हुने गरी निर्णय गरिसकेको छ ।  

बाँकी रहेको १ नम्बर प्रदेश पनि नाम र स्थायी राजधानीका टुङ्गो लगाउन प्रयत्नरत छ । १ नम्बर प्रदेशमा नै विश्वको सर्वोच्च शिखर सगरमाथा र  समुद्र सतहदेखि विश्वको सबैभन्दा होचो भूमि केचनाकबल यहीँ पर्दछ । प्रदेश १ को नाम र स्थायी राजधानीको निर्णय गर्न अरू प्रदेशको भन्दा अति सहज देखिन्छ । प्रदेशको नाम प्राचीन सभ्यता संस्कृति र भूमि र नदीहरूका ऐतिहासिक महत्त्व दर्साउने गरी सप्तकोशी राख्दा कसैलाई पनि अन्याय होला भन्ने लाग्दैन । तर किन ढिलाइ गरेको हो भन्ने जिज्ञासासहित कौशिकी प्रदेश नामकरण गरिनु पर्ने ऐतिहासिक आधारहरू यहाँ पस्कने प्रयास गरिएको छ ।  

विश्वका मानव सभ्यताहरूमा कौशिकी सभ्यता अति प्राचीन र सम्पन्न सभ्यता मानिन्छ । नेपालको झन्डै १५ प्रतिशत भूभागलाई छेकेर साना ठुला सयौँ खोला र अन्य नदीहरूलाई आफूमा समाहित बनाउँदै प्रत्येक कोशी नदीहरू अलग अलग हिमालको चुचुरोबाट निस्किएर नदी प्रणालीमा एकाकार भएर हिमाल, पहाड, फाँट र पहाडका मैदानहरू र मानव बस्तीहरूलाई सुशोभित बनाउँदै आफ्नो प्रवाहका आसपासका भूक्षेत्रलाई उर्वरा र सुसम्पन्न बनाउँदै महाभारत पर्वत शृङ्खलाहरू पार गर्दै नेपालको कौशिकी सभ्यताको धरोहर मानिने धार्मिक सांस्कृतिक र ऐतिहासिक धाम बराह क्षेत्र निकट आई पुग्दा विशाल सप्तकोशी महानदी प्रणालीमा एकाकार भएर पूर्वी तराईको चतरा धाम हुँदै प्राचीन काल देखिनै सप्त कौशिकी नामले विख्यात हुँदै नेपालको सीमा पार गरेर भारतमा प्रवेश हुन्छ ।    

अरुण, वरुण, तोमर, सुनकोसी आदि सबै कोशी नदीहरूभित्र पर्ने हिमाल, पहाड र तराईका मानव बस्तीहरू अति प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित छन् । सनातन, शैव, किराँत सभ्यता र संस्कृतिसँग सम्बन्धित जनगण, जाति जनजातिहरू मूलतः सम्पन्न सभ्यता र संस्कृतिका द्योतक हुन् । गङ्गा यमुना र सिन्धु सरस्वती नदीदेखि उत्तर पूर्वमा अवस्थित सबै भूभाग मूलतः अति प्राचीन हिमालय कैलाशको सभ्यताको क्षेत्रमा पर्दछ । यसभित्र हाम्रो कौशिकी सभ्यता विश्वको दोस्रो सभ्यता मानिन्छ । यो सभ्यता र संस्कृति शिव किराँतेश्वर र माता अम्बाद्वारा संस्थापित संरक्षित र प्रबद्र्वित थियो भन्ने विषय वेद, पुराण र मानव शास्त्रीय इतिहासहरूमा वर्णन गरिएको छ । पृथ्वीमा १२ वर्षसम्म पानी नपरेर सम्पूर्ण वनस्पति, जीव जगत्को विनाशको अवस्थामा पुगेको हुनाले त्यसलाई रोक्नका निम्ति महर्षि विश्वामित्रले कौशिकीको  तिरमा १२ वर्षसम्म कठोर तपस्या गरी वर्षा गराएको वर्णन सबै वेद पुराण वर्णन छ । 

रामायणको बाल काण्डमा लेखिएको छ : 
‘नकिंचिदवदत् विप्र मौनव्रतमुपास्थितः । अथ वर्षसहस्रं च नोच्छवासन् मुनिपुंगव ।
तस्य वर्षसहस्त्राणि घोरं तप उपासतः ।। कौशिकीतीरमासाध्य तपस्तेपे दुरासदम् ।  

अर्थात् कौशिकीका तिरमा आएर ऋषि विश्वामित्रले घोर तपस्या गरे । ऋषिको तपस्याका प्रभावले इन्द्रको आसन हल्लिएकोले पटक पटक इन्द्रले विघ्न खडा गरेका थिए । ऋषि विश्वामित्रले १ हजार वर्षसम्म स्वासै नफेरी कठोर मौनव्रतधारण गरी तपस्या गरेको हुनाले ब्रह्मर्षि तथा मुनि कहलाइए ।’

त्यस समयमा पाशुपत क्षेत्रको समेत नामकरण सत्यवतीका नामले आजको नेपालले ख्याति पाएको थियो । गाधीपुत्र विश्वामित्रका पुत्र गालब, संस्कृति, मधुच्छन्दा र अजीगर्तका छोरा शुनःशेफ आदि थिए । आफ्ना पुत्र र शिष्यहरूलाई साथमा लिएर कौशिकी सभ्यता सम्पन्न बनाउने महान् ऋषिहरू विश्वामित्र र जमदग्नि मामा भान्जा नेता थिए भने  गालब शुनःसेफ आदि सहयोगी  थिए । 

यजुर्वेदमा ऋग्वेदका मन्त्रहरूको समायोजन, यजुर्वेदका अधिकांश सूक्तहरूको रचना र गायत्री मन्त्र, मन्त्रतत्वको आविष्कार तथा साधना उपासना पद्धति महर्षि विश्वामित्रले यही भूमिमा संस्थापित र विकसित गरेका थिए । त्यति मात्र होइन, विश्व कल्याणको सङ्कल्पसहित महर्षि कुशिक, विश्वामित्र, दधीचि, और्व, ऋचीक, जमदग्नि आदि सयौँ ऋषि मनीषिहरूले गायत्री मन्त्रतत्वसँग माहेश्वर पाशुपत महायोगलाई एकाकार गरी विश्व मानवको आध्यात्मिक, भौतिक, उन्नति, प्रगति एवं समृद्धिमा अद्वितीय योगदान गरेका थिए । 

मानव जाति इतिहासको जगमा उभिन्छ, गौरव गर्छ, वर्तमानमा पौरख गर्दछ र उसले सुदूर भविष्यको समृद्धिको सपना देख्दछ, जीवनयात्राको मार्ग निर्माण गर्दछ । वर्तमान समयमा हामी नेपाल राष्ट्र, नेपाली जनता उन्नति समृद्धि र नेपाल भूमिको गौरव बढाउने, प्राचीन सभ्यता संस्कृतिको प्रतिष्ठापन गर्ने र  स्वामित्व ग्रहण गर्ने महाअभियानमा दृढ संकल्पित छौँ । उपरोक्त कौशिकी सभ्यता र संस्कृतिको गौरवमय इतिहासको जगमा उभिएर प्रदेश नम्बर एकको  नामकरण सप्तकोशी गर्नु वाञ्छनीय छ । यो नाम राख्नाले यहाँको दिव्य पवित्र भूमिको महिमालाई अझ अभिवृद्धि गर्नुका साथै प्राचीन सभ्यता र संस्कृतिको उत्खनन र उन्नयन गर्ने अविछिन्नतालाई प्रकट गर्दछ । यो सनातन सभ्यता, धर्म र संस्कृति गौरवको प्रतिबिम्ब भएको हुनाले यसले नेपाल र नेपालको सम्मान र गौरव बढाउने छ । अस्तु ।                 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ९ : ५० बजे