साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कलाकार चम्सुरीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । बुधवार कलाकार पल्पसा डङ्गोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बुधवार चिकित्सकहरूले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

पल्पसाको नाताले भाइ पर्ने अजु डङ्गोलले मिर्गौला दान दिएकी हुन् । प्रत्यारोपणपछि पल्पसालाई चिकित्सकको उच्च निगरानीमा राखिएको छ । चिकित्सकले अहिले पल्पसाको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

पल्पसालाई अझै एकसाता अस्पतालमै राख्नुपर्ने साथै मिर्गौला दान दिएका अजुलाई भने चार दिनसम्म राखिने जानकारी अस्पतालले दिएको छ । कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।

पल्पसालाई मिर्गौला प्रत्यारोपण गर्न झन्डै १२ लाख रुपैयाँ खर्च भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काले खर्च जुटाउन सङ्घले निरन्तर पहल गर्ने जानकारी दिनुभयो । विगत पाँच वर्षअघि नै सामान्य रूपमा पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ११ बजे