दोलखा जिल्ला पूर्णरुपमा कोरोना मुक्त

​​​​​​दोलखा । बुधवारदेखि दोलखा जिल्ला पूर्णरुपमा कोरोना सङ्क्रमण मुक्त भएको छ । कोभिड–१९ को तेस्रो लहर सुरु भए यता दोलखामा बुधवार पहिलो पटक कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो ।

बुधवार जिरी नगरपालिकाका १ पुरुष र २ महिला गरी ३ जना तथा बैतेश्वर गाउँपालिकाका ४ महिला सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । पुस १८ गतेबाट गणना सुरु भएको कोभिड–१९ को तेस्रो लहरमा बुधवारसम्म ४६ जनाको पिसिआर गर्दा ११ जना र १ हजार ६६ जनाको एन्टिजिन परीक्षण गरिएकोमा ६ सय ६२ जना गरी ६ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

कोरोना सङ्क्रमण शून्यमा झरेसँगै जिल्लामा लागू गरिएका प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भइरहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । कोरोनाको जोखिम कायमै रहेकोले परीक्षण र उपचारका लागि जिल्लाका स्वास्थ्य संस्थाहरू भने तयारी अवस्थामा नै रहेको पौडेलको भनाई छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ०८ बजे