काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि हेलिकप्टर पठाइने भएको हो ।
उहाँले गृह सचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिनुभएको छ ।
“मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भन्नुभयो ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् ।
घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ । चैनपुरबाट हेलिकप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।
घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सडकबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजी कार्य भने जारी नै छ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार १२ : ०८ बजे
प्रतिक्रिया