मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

काभ्रेको नमोबुद्ध र रोशी उत्कृष्ट

काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चोकको नगरपालिकामध्ये नमोबुद्ध र गाउँपालिकामध्ये रोशी उत्कृष्ट भएका छन् ।

आयोगले गत आर्थिक वर्ष २०७७÷७८ को स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेअनुसार जिल्लामा नमोबुद्ध र रोशी उत्कृष्ट भएका हुन् । 
काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । आयोगले विभिन्न १७ सूचकको वित्तीय क्षेत्रतर्फका सूचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । नगरतर्फ पहिलो स्थानमा पर्न सफल नमोबुद्धले ६६ दशमलव ३९ अङ्क प्राप्त गरेको छ । उक्त नगर १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३औँ स्थानमा परेको हो ।

यस्तै, जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको रोशी गाउँपालिकाले ६८ दशमलव ३६ अङ्क प्राप्त गरेको छ भने महाभारत गाउँपालिकाले दोस्रो स्थान ओगट्न सफल भएको छ । उसले ६६ दशमलव ६८ अङ्क प्राप्त गरेको छ । वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिकामध्ये उत्कृष्ट स्थानमा पर्नु खुसीको विषय भएको अध्यक्ष डिबी लामाले बताउनुभयो । नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पनि उस्तै तर्क गर्नुभएको छ । 

“वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट स्थानमा पर्नु खुसी र गौरवको कुरा हो”, तिमल्सिनाले भन्नुभयो । लामा र तिमल्सिनाले तोकिएको समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम तथा समयमै कार्यान्वयन गरेकाले उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो । 

आयोगले तोकिएको समयमा बजेट ल्याए÷नल्याएको, वार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए÷नभएको, कक्षा एकदेखि ८ सम्म खँुद विद्यार्थी भर्ना दरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्थालगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो । 

जिल्लाको अन्य स्थानीय तहमा नगरतर्फ दोस्रो स्थान र समग्रमा चौँथो स्थानमा परेको धुलिखेल नगरले ६३ दशमलव २९, पाँचौँ पाँचखाल नगरले ६३ दशमलव १९ अङ्क प्राप्त गरेका छन् । सबैभन्दा कम अङ्क प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिकाले ३७ दशमलव ९० अङ्क मात्रै प्राप्त गरेको छ ।  

जिल्लाका अन्य स्थानीय तहमा नगरतर्फ बनेपाले ५६ दशमलव २२, पनौतीले ५५ दशमलव ९२ र मण्डनदेउपुरले ५३ अङ्क प्राप्त गरेका छन् । यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९ दशमलव २५, खानीखोलाले ५४ दशमलव ९५, तेमालले ५० दशमलव ५८ र भुम्लु गाउँपालिकाले ५० दशमलव २० अङ्क प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ०८ बजे