मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

दोविल्ला–फलेवास सडक अवरुद्ध

पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ र ११ जोड्ने मोदीखोला माथिको दोबिल्ला मोटरेबल पुलमा टिप्पर दुर्घटना भएको छ । पुलमा टिप्पर दुर्घटना हुँदा दक्षिण पर्वत जोड्ने दोविल्ला–फलेवास सडक अवरुद्ध बनेको छ । 

यो पुलले पर्वतको फलेवास नगरपालिका, पैयुँ, बिहादी र महाशिला गाउँपालिका जोड्छ । आज बिहान साढे ७ बजे अलकत्र लिएर सिल्मीबाट कुश्मातर्फ आउँदै गरेको ग१ख ८६४१ नंको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयवासी चित्रसागर श्रेष्ठले जानकारी दिनुभयो । 

 उहाँका अनुसार पुलको भार बहन क्षमता १५ टन मात्र भए पनि दिनहुँ क्षमताभन्दा दोब्बर लोड भएका करिब १०० भन्दा बढी टिप्पर यहाँबाट ओहोरदोहोर गर्ने बताउनुभयो । पुलमा पल्टिएको टिप्पर निकाल्नका लागि प्रयास भइरहे पनि लोड बढी भएका कारण समस्या परेको प्रहरीले जनाएको छ । 

पुलबाट आवतजावत गर्न नपाउँदा फलेवासबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन सिल्मीमा रोकिएका छन् भने ग्रामीण भेगमा जाने सवारी साधन दोविल्लामा रोकिएका हुन् । सडक खुलाउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

निर्माण भएको १५ वर्षसम्म पनि पुल मर्मत नहँुदा जीर्ण बन्दै गएको छ । पुलमा राखिएका फलामका पाता उप्किएका छन् भने पर्खाल तथा नट बल्टुहरुसमेत खुस्किएकाले बढी क्षमता भएको टिप्पर पल्टिएको हो । पुल मर्मतका लागि सवारीचालक र स्थानीयवासीले पटकपटक माग गर्दै आएको भए पनि सुनुवाइ हुन सकेको छैन । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ५७ बजे