मनसुन क्रमशः क्षीण हुँदै

उद्यमीलाई अनुदानमा दुग्ध ट्याङ्कर

खलङ्गा। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ ।

कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ ।  एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । 

कार्यालयले ५० प्रतिशत अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । डेरी उद्योगका सञ्चालक मनकोइला धितालका अनुसार रु ३२ लाख ९५ हजारमा ट्याङ्कर आइपुगेको हो । किसानले एक ठाउँमा दूध सङ्कलन गरेर राखेमा गाउँमै पुगेर दूध सङ्कलन गर्न सकिने डेरी सञ्चालक धितालले भन्नुभयो ,“अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन । किसानले मगाएको खण्डमा घरदैलोमा दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।”

 अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा पु¥याउने काम भइरहेको छ । सदरमुकाम खलङ्गाभित्र र बाहिरको गरी नौवटा डेरीमा दूध पुग्ने गरेको सञ्चालक धितालले बताउनुभयो । ट्याङकर पुग्दा १० जनाले रोजगारी पाएका छन् । 

एक महिनामा झन्डै रु ६ लाखको दूध बिक्री हुने गरेको  हिमाली डेरी उद्योगले जनाएको छ ।  कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो । अब ट्याङ्करले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्ने छैन । 

सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग अत्यधिक हुने गरेको यहाँका  डेरी उद्योगका सञ्चालक बताउँछन् । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०० बजे