गलकोट । देशभर सहकारी ऋण, बचत र मुनाफामा मात्र केन्द्रित भइरहेको गुनासो भइरहेका बेला गण्डकी प्रदेशमा स्थापित सहकारीले नमूना उत्पादनशील कार्यमा अग्रसरता देखाएका छन् ।
सहकारीले उत्पादनमा लगानी बढाएसँगै यसले प्रदेशको उत्पादकत्व र रोजगारी प्रवद्र्धनमासमेत टेवा पु¥याइरहेको छ । गण्डकी प्रदेशमा झण्डै दुई हजार ७०० सहकारी छन् । जसमध्ये निकै कम सहकारीले मात्रै बचत तथा ऋणको कारोबार नगरेर उत्पादनसँग जोडिएर जनतालाई रोजगारी र आर्थिक विकासमा टेवा पु¥याएको भए पनि पछिल्लो समय बचत तथा ऋणको कारोबार गर्ने सहकारीलेसमेत कूल कारोबारको केही अंश उत्पादनमा लगाउँदै आएका छन् ।
अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशका सहकारी प्रदेश ऐनको सकारात्मक पक्षलाई पछ्याउँदै अगाडि बढेको सहकारीकर्मी बताउछन् । नेपालमा विभिन्न विषयगत सहकारी सञ्चालित छन् । नेपालमा सहकारीको तथ्याङ्क हेर्ने हो भने बचत तथा ऋण सहकारी, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, दुग्ध, सञ्चार, कफी, मत्स्य, स्वास्थ्य, मौरी, जडीबुटी र महिला सहकारी सञ्चालनमा छन् । विधागत रुपमा स्थापना भएका सहकारीसमेत उद्देश्यअनुरुप सञ्चालनमा नआएको, बचत तथा ऋणमा मात्र केन्द्रित भएको गुनासो अधिक छ ।
गण्डकी प्रदेश सहकारी ऐन २०७५ अनुसार सहकारीले आफ्नो लगानीको ३० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगानी गर्ने नेपालमै नयाँ र प्रभावकारी ऐन बनाएका कारणसमेत गण्डकी प्रदेशका ११ जिल्लाका सहकारीले आफूलाई उत्पादनमा केन्द्रित गर्न थालेका छन् । गण्डकी प्रदेशका झण्डै दुई हजार ७०० सहकारीमध्ये २० प्रतिशत सहकारी अहिलेनै उत्पादनमा जोडिएको आँकलन छ । तर, जिल्लामा सङ्घीयतापछि डिभिजन सहकारी खारेजमा परेपछि एकीन तथ्याङ्क सङ्कलनमा कठिनाइ भइरहेको छ ।
अहिले पालिका र सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीलाई हेर्दै आए पनि पालिका सहकारीप्रति सकारात्मक नदेखिएको सहकारीकर्मीको गुनासो छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय अन्तर्गतका ९३७ सहकारीमध्ये झण्डै एक सय सहकारी कुनै न कुनै हिसाबले उत्पादनमा जोडिएर रोजगारी सिर्जना र आयआर्जन बढाउँदै लगेको पाइएको गण्डकी प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले बताउनुभयो । “पछिल्लो समय गण्डकी प्रदेशका सहकारी निकै विकसित भएको पाइन्छ, कृषि तथा पशु सहकारीले त उत्पादनमा लगानी गरेकै थिए । अहिले बचत तथा ऋणको कारोबार गर्नेलेसमेत कृषि, पशुपालन, फलफूल तथा दुग्धजन्य उत्पादनमा लगानी गर्दै आएको पाइयो”, रजिष्ट्रार पराजुलीले भन्नुभयो “सहकारीले गरेको लगानीको ३० प्रतिशत अनिवार्य उत्पादनको क्षेत्रमा लगानी गर्नेपर्ने प्रदेश सहकारी ऐनले भनेका कारणसमेत सहकारी धमाधम उत्पादनमा लागेको पाइयो ।”
दूधको बजारीकरण गर्दै आएको पोखराको शुक्लागण्डकी दुग्ध सहकारी, भँैसी र बाख्रा पाल्दै आएको काहुँकोट सहकारी, आलु र पशुपालन गर्दै आएको पर्वतको मातृभूमि कृषि सहकारी, अदुवा खेती गर्दै आएको पकवादी कृषि सहकारी स्याङ्जा, तरकारी र खाद्य बालीमा लगानी गर्दै आएको लमजुङको लालीगुराँस सहकारी उत्पादनसँग जोडिएका छन् । त्यस्तै पर्यटनको क्षेत्रमा काम गरेको म्याग्दीको पाउद्वार पर्यटन सहकारी, वृहत तरकारी खेती गर्दै आएको नवलपरासीको आत्मनिर्भर कृषि सहकारी, दैनिक ७०० बढी दूधको बजारिकरण गर्दै आएको माचापुच्छ्रे« दुग्ध सहकारी कास्की, छुर्पी निर्यात गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ, खसी बोकाको कारोबार गर्दै आएको बागलुङको सप्तरङ्गी सहकारी उत्पादनमा जोडिएका गण्डकी प्रदेशका नमूना सहकारीका उदाहरण हुन् ।
बागलुङ जिल्लाको शङ्खधर बहमुखी सहकारी स्थापना भएको २० वर्ष भयो । सहकारीले एक वर्षदेखि मात्रै उत्पादनको क्षेत्रमा लगानी गर्न थालेको छ । बचत तथा ऋणको कारोबारसँगै सहकारीले एक वर्षदेखि भाडाको २० रोपनी जग्गामा फलफूल तथा तरकारी उत्पादन सुरु गरेको छ ।
सहकारीले कारोबारको केही अंश उत्पादनमा लगानी गर्ने उद्देश्यले २० रोपनी जग्गा भाडामा लिएर सुन्तला, केरा, कागती र विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालेको सहकारीका कार्यवाहक अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले बताउनुभयो । “वार्षिक ८५ हजार भाडा तिरेर खेर गएको जग्गामा व्यावसायिक फलफूल तथा तरकारी उत्पादन थालेका हौँ, सहकारीले उत्पादनसँग जोडिनुको विकल्प छैन, ढिलै भए पनि हामी उत्पादनमा जोडिएका छौँ, अन्य सहकारीसमेत यसैमा लाग्नुपर्दछ”, श्रेष्ठले भन्नुभयो, “अब सहकारी ढिलो चाँडो उत्पादनमा जोडिनुको विकल्प देखिएन ।” शङ्खधर त भर्खरै उत्पादनमा जोडिएको सहकारी हो, बागलुङमा गाईपालन, भँैसीपालन, कृषिमा लागानी तथा शीत भण्डार सञ्चालनमा ल्याएर मनग्य आम्दानी गर्ने सहकारी प्रशस्त छन् ।
जिल्लामा सञ्चालित शीत भण्डार गृहसमेत सहकारीमार्फत सञ्चालित हुँदा सुन्तला, आलु किसानले दोब्बर आम्दानी गर्दै आएको पाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपरामा पाउद्वार पर्यटन सहकारी संस्थाले एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको छ । गाउँपालिकामा दर्ता भएको पहिलो पर्यटन सहकारीले खोपरा लेकमा होटलसँगै रु दूई करोड लागतमा ५० किलोवाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको पाउद्वार पर्यटन सहकारी संस्थाका अध्यक्ष राजेश तिलिजाले बताउनुभयो ।
स्याङ्जाको आधिखोला कृषि उद्यम सहकारी संस्थाले गाउँमा खेर गएको अर्गानिक उत्पादनलाई ब्राण्ड बनाएर बजारीकरणमा लागेको छ । एक वर्ष अघिदेखि सुरु भएको सहकारीले भाडामा सवारीसाधन लिएर गाउँमा उत्पादन भएको दूध, अर्गानिक तरकारी, सिन्की, मुला, पिँडालु जस्ता अर्गानिक कृषि उपजलाई ब्राण्ड बनाएर बजारमा पु¥याउने गरेको छ । गाउँमा खेर जाने कृषि उपजलाई बजारमा निकै रुचाइन थालिएको सहकारीले जनाएको छ ।
तनहुँ जिल्लाको मनकामना कृषि सहकारीले सात रोपनी जग्गा भाडामा लिएर पुष्प व्यवसाय गर्दै आएको सहकारीका अध्यक्ष शिवराज रेग्मीले बताउनुभयो । स्याङ्जामा जिल्ला सहकारी सङ्घ र सहकारी विभाग तथा स्थानीय तीन पालिकाको लगानीमा ठूलो मात्रामा शीत भण्डार गृह सञ्चालनमा ल्याइएको छ । सुन्तलाको राम्रो उत्पादन हुने स्याङ्जामा सुन्तला भण्डारण गरी बेमौसममा बिक्री वितरण गर्नका लागि शीत भण्डारण गृह निर्माण गरिएको छ । पुतलीबजार नगरपालिका–११ जैसिडाँडामा १३ रोपनी जग्गा खरिद गरेर हाल एक हजार २५० मेट्रिक टन क्षमताको गृह निर्माण भएको छ ।
यहाँका सुन्तला किसानलाई आफूले उत्पादन गरेको सुन्तला महङ्गोमा बिक्री गरेर दोब्बर आम्दानी गर्न सक्ने अपेक्षा रहेको जिल्ला सहकारी सङ्घ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति शर्माले बताउनुभयो । गण्डकी प्रदेशका सहकारीले तरकारी, फलफूल, दुग्धको क्षेत्रमा लगानी मात्रै होइन, यसबाट मनग्य नाफासमेत कमाउन थालेको सहकारीकर्मीले बताउँदै आएका छन् । गण्डकी प्रदेशका दुई हजार ७०० सहकारीमध्ये ९०० सहकारी प्रदेश मातहतमा छन् भने अन्य सहकारी स्थानीय तहमार्फत छन् । रासस
प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ३ : २८ बजे
प्रतिक्रिया