मनसुन क्रमशः क्षीण हुँदै

अब टोखावासीलाई निःशुल्क रगत

काठमाडौँ । टोखा नगरवासीले निःशुल्क रगत एवं रक्ततत्व पाउने भएका छन् ।

 यसका लागि  टोखा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबीच  आज द्विपक्षीय सम्झौता भएको छ । अब  नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्नपर्ने छैन ।  

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा  निःशुल्क रगतको सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सो नगरपालिका दोस्रो भएको छ । यस अगाडि कीर्तिपुर नगरपालिकाले गत मङ्सिर  ७ गतेदेखि  निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ  । 

टोखा नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल र नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, केन्द्रीय रक्तसञ्चार सेवाका कार्यकारी निर्देशक दिव्यराज पौडेलका सेवा सञ्चालनसम्बन्धी सो द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  

सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन समझदारी भएको  जानकारी दिनुभयो ।  नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ  । यसका लागि पालिकाको अहम् भूमिका हुन्छ ।”

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले  भन्नुभयो, “सुलभ र निःशुल्क रगत उपलब्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिनेछ । रगतको सहज पहुँचका लागि उच्च प्राथमिकताका साथ काम गरिएको छ ।” 

रगत परीक्षण र सेवाशुल्कका लागि नगरपालिकाले पहिलो चरणमा चालु आवको रकमबाट रु पाँच लाख विनियोजन गरेको छ  । सम्झौतामा रगतको आपूर्तिबमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई सोधभर्ना दिइने उल्लेख छ  । 

 त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तीमा दुईपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : १९ बजे