‘नेशनल डे कन्सर्ट’ सम्पन्न

डोल्पामा नगरप्रमुखका दुई वटा डोजरमा आगजनी

डोल्पा  । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुई वटा डोजरमा आगजनी भएको छ ।

नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुई वटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुसल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ ।

घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उहाँले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताउनुभयो । आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।

दुई वटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ ।

आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।
 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : १९ बजे