विवादमा परराष्ट्र मन्त्री खड्का : उद्धार गर्ने नेपाली, धन्यवाद पाउने भारत

​​​​​​​लण्डन । युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्र मन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।

मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताउनुभएपछि गैर आवासीय नेपाली सङ्घ पोल्याण्डले आलोचना गरेको छ ।

सङ्घले मङ्गलवार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्डलगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाई आफैँमा प्रमाणविहीन,  हास्यास्पद र लज्जा बोध भएको जनाएको छ । 

विज्ञप्तिमा पोल्याण्डको गैर आवासीय नेपाली सङ्घले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रूपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको, युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ  । सङ्घले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ ।

विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली संस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाइले सरकारी संयन्त्र नै नेपाली संस्था र गैर आवासीय नेपाली सङ्घमाथि अविश्वास पैदा गरेको उल्लेख छ ।  

यसअघि गैर आवासीय नपाली सङ्घ र जर्मन, रुसस्थित नेपाली राजदूतहरू रहेको एक उच्चस्तरीय समितिमार्फत नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली सङ्घसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिनुभएको थियो।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ०२ बजे