मनसुन क्रमशः क्षीण हुँदै

फुटपाथको सङ्घर्ष : नाङ्लोले धानेको जीवन

काठमाडौँ । काठमाडौंको गौशाला चौकीबाट अलिक तल एउटा बस स्टप छ । जहाँ एउटा जीवन र सङ्घर्षका पात्र छिन् । बाटोमा हिँड्ने जो कोहीको आँखा सजिलै ती पात्रमा पर्छ । जिङ्ग्रिङ्ग कपाल,मैलो कपडा नाङ्लाभरि चाउचाउ,बिस्कुट,बदाम ,चुरोट अनि करेन्ट बेचिरहेकी एउटी बुडी आइमाई। 

जिजीविषाको आशाले ती पात्र गौशाला बस स्टपको एउटा कुनामा बसेको ३० वर्ष भयो । रित्तो मन,नयाँ जीवन र आशाका किरणहरूले डोर्‍याएर धुमिल बाटोमा परित्यत्त जीवन गुजारी रहेकी छिन् ती पात्र । ती पात्र अर्थात् काभ्रेकी सीता अधिकारी । पीडा र वेदनाले थङथिलो भएको उनको जीवन हरेक दिनलाई साँझ देख्छ । मलिन अनुहार, काठमाडौँको छारो र धुलोमा उनको दैनिकी बित्छ । सडक छाप बालबालिका उनको साथी बनेका छन् । दैनिक सडक पेटीमा ओहोर दोहोर गर्ने नयाँ नयाँ मानिस उनको लागि सामान्य हो । 

सीता अहिले ६५ वर्षको भइन् । उनी जीवनको उत्तरार्धमा छिन् त्यै पनि उनलाई पारिवारिक व्यवहारले रत्तीभर छोडेको छैन । उनको श्रीमान् बितेको २० वर्ष भयो । उनको जे भन्नु एउटा छोरो र एउटा नाति छन् । 

जीवन सङ्घर्षको अर्को शृङ्खला हो । मान्छेले जीवनमा अनौठा अपत्यारिला घटना बेहोर्नु पर्छ । हो सीताले पनि जीवनमा त्यस्तै अनौठो घटनाको सामना गर्नु पर्‍यो । ९ वर्षको कलिलो उमेरमा उनी कसैको बुहारी बन्न पुगिन् । उनी २० वर्ष नपुग्दै उनको जीवन अँध्यारोको दल दलमा फस्यो । उनले कलिलो उमेरमै जीवनको सहयात्रीलाई गुमाइन् । उनको जे भन्नु एउटा छोरो मात्र थियो । छोरोको लालन पोषण सबै उनैकै जिम्मा ।  छोरो नहुर्किउन्जेल उनी गाउँमै कुट्टो कोदालो गरेर बसिन् ।  छोरो हुर्किएपछि भएका झिटीगुन्टा सहित उनी काठमाडौँ पसिन् । काठमाडौँ उनको लागि नयाँ ठाउँ, नयाँ अनुहार ,नयाँ सहर । उनले चिनेजानेको कोही थिएन काठमाडौँमा । 

काठमाडौँको ठाउँ आफ्नो जायजेथा गुजार्न केही न केही काम नगरी कसरी सकिन्थ्यो र रु उनले काम खोज्न चारै तिर भइतारिन् तर,उनलाई कामको लागि पत्याउने कोही भएन । त्यसपछि उनले आफूसित भएको १०० रुपैयाँले नाङ्लोमा चाउचाउ र बिस्कुट राखिन् । र, सुरु भयो सीताको नयाँ जीवनको नयाँ अध्यायको सरुआत् । उनले सय रुपैयाँमा किनेको सामानबाट बिस्तारै फाइदा कमाउँदै गइन । तर, उनलाई मनग्गे फाइदा भने भएन । आफ्नो जायजेथा चल्ने फाइँदामै उनी सन्तुष्ट रहिन् । उनको दिनमा धेरै व्यापार भए १ हजार रुपैयाँको व्यापार हुने उनी बताउँछिन् । यसरी उनी गौशाला बस स्टपको एउटा कुनामा बसेर नाङ्ले व्यापार गरेको ३० वर्ष भयो । 

सुरु सुरुका दिन निकै कष्टकर रहेको उनी बताउँछिन् । ‘पहिले पहिले त बेच्न राखेको सामान सबै लुटेर लैजान्थे । महानगरले पनि कति लखेट्यो ’ उनले भनिन् । ‘अहिले नि यसैबाट आएको पैसाले मेरो परिवार चलेको छ ’, उनले थपिन् ।  एउटा नाति छ अनि छोरा हामीहरू यहीबाट भएको कमाइले बाँचेका छौ । अब त बुढो पनि भइयो अब भत्ता आउन थालेपछि यो यहाँ बेच्न छाड्छु ’ उनले भनिन् ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने प्रश्नमा उनी अनुत्तरित भइन् । आज श्रमिक महिलाहरूको पक्षमा ठुला ठुला कार्यक्रम हुन्छन् भन्दा उनी फिस्स हाँसिन् । अन्तमा उनले भनिन् – ‘हामी जस्ता महिलालाई दुःखका साथ व्यापार गर्दा अनावश्यक दुःख नदिए त्यो भन्दा अर्को जाति केही हुने थिएन । ’

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : ५६ बजे