आज औँसी रहेछ,
मात्र ताराहरू रमाइरहेछन्,
मालिकविनाका दास जस्तै,
छरपष्ट !
आज ताराहरू अलिक बढी नै खुसी छन्,
जता हे¥यो त्यता,
आफू जस्तै,
स्वतन्त्र !
स्वतन्त्रता ?
कलियुगको माया जाल,
यी तारालाई पत्तो हुँदो कि ?
उही मालिककै उज्यालोले अस्तित्व बचिरहेछ ।
आज रात अलिक बेसी गाढा छ,
साइकलको चेनले समेत,
ध्वनिको स्वामित्व पाएको छ,
यो पुर्पुरोको अझै अत्तो पत्तो छैन,
बाटाहरू त अचेल उज्याला छन्,
तर सधैँ पूर्णिमा – सधैँ दास !
हुन त यी कागजको कत्रो दम्भ ?
तर पनि मौन छन्,
मुट्ठीभरि अँठिएका,
भ्रमै त रहेछ,
आजादी !
कण–कणमा बाँधिएका छौँ,
ओथारो बसेको कुखुरा जस्तै,
परिवर्तनको पनि त मूल्य हुने रहेछ,
कठै !
कति गह्रुङ्गो !
ट्रिङ – ट्रिङ !
यति अबेर यी दुई नानी किन एक्लै हिँड्दैछन् ?
सहरका चितुवाको बिगबिगी छ,
मुटु चीद्रद्रद्रसो हुन्छ अचेल,
२–३ वर्ष भयो मेरी छोरी पनि स्कुल जान थालेकी,
हात समाउन पटक्कै रूचाउन्ने,
समाजले गाल पार्ने हो कि ?
किन समाउन्ने त हात ?
गल्ती छोरीकै हो,
तर पनि हक्की छे,
मुख–मुखै लाग्छे मरदसँग,
नसिबै त हो,
रोक्दिन !
यो मजदुरी उसैका लागि,
जीवन जगतका कुरा गर्छे,
उम्रिँदैका तीन पात !
सपना ठूला छन् उसका,
रहर उस्तै,
आज मसँग फोटो खिच्न भनी आएकी नानी जस्तै,
ए साँच्चै,
आज त श्रमिक महिला दिवस !
-रुपन्देही
प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार १ : ३८ बजे
प्रतिक्रिया