डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मोटरसाइकलको ठक्करबाट मृत्यु

राँझा। नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको उपचारको क्रममा गए राति मृत्यु भएको थियो । प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दिया निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ३५ बजे