डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

तनहुँ । बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो । विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिनुभयो । 

उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट  रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो । उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने  उहाँले बताउनुभयो । बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक  जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताउनुभयो । 

सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो ।  खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरेर  वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई  सफा  पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो। रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १ : ४४ बजे