‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमसीसीमा माझण्डहरूको नियत र भावी राजनीति

एमसीसीमा न राष्ट्रवाद थियो न त कुनै राष्ट्र घात । हिजो माझण्डहरूले एमसीसीलाई राष्ट्रघाती सम्झौता देखाएर केपी ओलीलाई सत्ताबाट हटाउने राजनीतिक हतियार बनाएका थिए भन्ने कुरा अहिले आएर घटनाक्रमले पुष्टि गरेको छ । 

उनीहरूले जनता तथा कार्यकर्ताहरूलाई भड्काउन एमसीसीलाई राष्ट्रघाती भन्दै ‘नो एमसीसी’ को नारा लगाउन उक्साए । जसले गर्दा माझण्डहरू एमसीसीलाई लिएर नेपालको राजनीतिमा वस्त्र विहीन हुँदै थिए । फेरि एमसीसीलाई लिएर कम्फर्टेबल सत्ता गठबन्धन पनि सङ्कटमा पर्दैथ्यो । एकातिर सत्ता जोगाउनुपर्ने अर्कोतिर जनतामा छरिएको भ्रम हटाएर एमसीसी पारित गर्नुपर्ने दबाबमा प्रधानमन्त्रीलगायत गठबन्धनका नेताहरू परेका थिए । त्यसपछि माझण्डहरूको लाज छोप्न पातलो १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ रूपी धोती तयार गरियो । यसले एकातिर सत्ता जोगायो भने अर्कोतिर अमेरिकासँगको सम्बन्धमा दरार आउँछ कि भन्न संशय अन्त गरेको छ ।

एमसीसी विवादले गर्दा सत्ता गठबन्धन भत्किएर आफूहरू सत्ताबाट टाढा हुनुपर्ने र सत्ता शक्तिको अभावमा आफ्नो अस्तित्व सकिने विश्लेषण पछि माझण्डहरू ‘व्याख्यात्मक घोषणा’ को  बाहान बनाएर एमसीसी पास गर्ने ठाउँमा पुगेका थिए । अहिले प्रचण्ड भन्दैछन्, “व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्नु एउटा विशेष उपलब्धि हो । यसले देशलाई राजनीतिक दुर्घटना हुनबाट जोगियो । म देशको पक्षमा उभिने नेता हुँदा पनि तैपनि मलाई किन लखेटिँदै छ ? मैले बुझ्न सकेको छैन ।”

माझण्डहरू हिजो के भन्दै थिए, आज के भन्दैछन् र भोलि के भन्लान् ठेगान छैन । उनीहरू भोलि जिम्मेवार होलान् कि नहोलान् अहिले नै अनुमान गर्न सकिन्न । केपी ओली फोबियाका कारणले माझण्डहरू आफूले राष्ट्रघाती भनेको एमसीसी सम्झौतालाई जस्ताको तस्तै संसद्बाट अनुमोदन गर्न तयार भएको देखिन्छ । केपी ओली फेरि सत्तामा आए देश खाइदिने भन्ने माधव नेपालको टिप्पणी र एमसीसीका कारण गठबन्धन भत्किने र प्रतिगमन फर्किने प्रचण्डको  अभिव्यक्ति त्यसको प्रमाण हो । त्यसैले उनीहरूले आफ्नो लाज छोप्न  ‘व्याख्यात्मक घोषणा’ रूपी पातलो जालोको साहारा लिएका थिए । एमसीसी जस्ताको तस्तै संसद्बाट अनुमोदन गरिएको होइन भन्नका लागि व्याख्यात्मक घोषणालाई माझण्डहरूले आधार बनाउन खोजेका छन् । जबकि सम्झौतामा कुनै फेरबदल भएको छैन । 

हिजो माझण्डहरूले 
एमसीसीलाई ज्यादै गिजोल
जनमनोविज्ञान भ्रमित पार्नु पारे
​​​​​​​कार्यकर्तालाई ढुंगामुढा गर्न उचाले !

आज माझण्डहरूले
सत्ता गठबन्धन जोगाउन
एमसीसीलाई बनाए आर्थिक अनुदान, 
अब बन्छ कसरी सकारात्मक जनमन!

भोलि माझण्डहरूले
लुकाउलान आफ्ना कमजोरी
सरकार तयार गर क्षतिहरूको फाँटवारी
लेलान त क्षतिहरूको सबै जिम्मेवारी!

अब पनि कसैले माझण्डहरूलाई मुख्य नेता मानेर राजनीति गर्छु भन्ने ठानेका छन् भने त्यो उनीहरूको राजनीतिक भूल र पतनको बाटो हुनेछ । अझै माझण्डको नियत नचिनेर र उनीहरूले छरेका भ्रममा परेर माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीमा कतिञ्जेल क्रियाशील भएर त्यसका नेता तथा कार्यकर्ताहरूले आफ्नो समय र सामर्थ्यहरूको दुरुपयोग हुन दिने ? उत्तर खोज्नुपर्ने भएको छ । एउटा कुरा पक्का हो, सत्ताको प्रभाव र भ्रमको आडमा अरू केही समय माझण्डहरूले जनमन भ्रमित पारेर नेपालको राजनीतिलाई प्रदूषित गरिरहने छन् ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएपछि यो सम्झौता संविधानभन्दा माथि भयो भन्नेहरू हुन् कि १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसी सम्झौता संशोधन गरेको भन्नेहरू सबैले झुठो बोलिरहेका छन् । जनतालाई भ्रमित पार्न खोजिरहेका छन् । सत्य कुरो के हो भने न एमसीसी सम्झौता संविधानभन्दा माथि भएको छ न त १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसी सम्झौतामा कुनै संशोधन नै गरेको छ ।

हामीले बुझ्नुपर्छ, भ्रम र जालसाजीबाट प्राप्त सत्ताको आडमा गरिने राजनीतिले तत्काल केही शक्ति आर्जन गर्ला तर त्यो स्थायी हुँदैन । किनभने भ्रमबाट प्राप्त सत्ता र शक्ति जहिल्यै अस्थायी हुन्छ । आज माझण्डहरू त्यही अस्थायी सत्ताको आडमा बलियो भएको महसुस गर्दैछन् । जबकि हिजोभन्दा आज माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धरातल खस्कँदो छ । हिजो आफैले भ्रममा पारेर सडक पुर्‍याइएका नेता तथा कार्यकर्ताहरूले आज माझण्डहरू कै निर्देशन मानेर पार्टीमा क्रियाशील हुँदैनौँ भन्न थालेका छन् । त्यसैले माझण्डहरूको उपयोगितावाद र कुण्ठाको दरिद्र राजनीति विघटनको सङ्घारमा पुगेको अनुमान गर्न सकिन्छ । भलै केही समय उनीहरूको प्रभाव देखिने किन नहोस् । तर जनपरीक्षणमा पुग्दा त्यो सकिनेछ ।

अब नेपालको राजनीतिमा दुई वटा मात्र केन्द्र रहने छ । एउटा केन्द्रको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ भने अर्को केन्द्रको नेतृत्व नेकपा एमालेले गर्ने पक्का भएको छ । स्थानीय तहको चुनावदेखि प्रदेश र केन्द्रको चुनावहरू आउँदैछन्, त्यतिखेर माझण्डहरू कुन कित्तामा कसरी उभिन्छन् थाहा हुनेछ । यति देख्न धेरै समय कुर्न पर्दैन किनभने स्थानीय तहको चुनावदेखि प्रदेश र केन्द्रको चुनाव पूरा हुन लगभग १० महिना लाग्छ, अनि त्यसको प्रत्यक्ष चित्र देखिनेछ ।

रोस्ट्रममा विपक्षीको नाराबाजी र गठबन्धनकै सांसदहरूको विरोधका बिच अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी फागुन १५ गते आइतबार संसद्बाट बहुमतले अनुमोदन भयो । यसमा चार नेताहरूको मुख्य भूमिका रह्यो । जसमा प्रधानमन्त्री देउवा बलिया साबित भए भने एमाले अध्यक्ष केपी ओली रणनीतिक हिसाबले अघि देखिए । प्रचण्ड कमजोर र माधव नेपाल पछुवा भएको प्रमाणित गर्‍यो । यसले पनि प्रचण्ड र माधवका पक्षमा लागेका नेता तथा कार्यकर्ताहरूलाई भोलिको बाटो तय गर्न सजिलो बनाएको हुनुपर्छ ।

प्रचण्डले आफ्नो पत्रकार सम्मेलनमा “एमसीसी अनुमोदन भएपछि संविधान र लोकतन्त्र माथिको खतरा तथा शान्ति प्रक्रिया भङ्ग हुने जोखिम टरेको छ । अनि नारायणकाजी श्रेष्ठलाई पार्टी छोड्न स्वतन्त्र रहेको चेतावनी पनि दिएका छन् ।” प्रचण्डले आफूलाई राजनीतिको केन्द्रमा कायम राख्न बेला–बेलामा शान्ति प्रक्रिया भङ्ग हुने धम्की दिने गरेका छन्, जुन असान्दर्भिक भइसकेको छ । यसले प्रचण्डको गिर्दो साख र माओवादी केन्द्रमा विभाजन आउन सक्ने सङ्केत पनि गरेको छ । सामाजिक सञ्जालमार्फत स्थानीय तहका माओवादी केन्द्रका कार्यकर्ताहरूले पार्टी छोडेको घोषणा गर्दैछन् । खैरहनी नगरपालिका चितवनका एक जना माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, “आजका मितिबाट नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु ।” यसरी बिस्तारै असन्तुष्टि बाहिर आउँदै छ र  माओवादी केन्द्र छोड्ने क्रम बढेको छ ।

त्यसैले माओवादी केन्द्र र एकीकृत समाजवादीमा लागेका नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ, माझण्डहरू नेपालमा नियन्त्रित अस्थिरता कायम राखेर आफ्नो स्वार्थ अनुकूल नीति बनाउन र निर्णयहरू गर्न दक्षिण–पश्चिमले तयार गरेर प्रयोग गरिएका पात्र हुन् । यिनका पछि लागेर न वामपन्थी राजनीति बलियो हुन्छ न त राष्ट्रिय स्वाभिमान नै माथि उठाउन सकिने छ । यस्ता खल पात्रहरूलाई चिनेर राजनीतिक बहिष्कार गरिएन भने एकातिर राजनीतिक रूपमा धोखा पाइन्छ भने अर्कोतिर देशभक्तिपूर्ण समृद्धिको यात्रा कमजोर हुन्छ ।

अन्तमा “नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् या त दास हुन्।” भन्ने बिपी कोइरालाको भनाइअनुसार पार्टीका नेता तथा कार्यकर्ताहरूले आफूलाई स्वतन्त्र र स्वाभिमानी बनाएर दलीय राजनीतिमा लाग्नुपर्छ । देशले के दियोभन्दा पनि देशलाई के दिएँ भनेर सोच्नुपर्छ र सकारात्मक भएर क्रियाशील हुनुपर्छ । अनि मात्र समाधान भेटिनेछ । समृद्धिको यात्राले ठिक बाटो लिनेछ । त्यसपछि राजनीति पनि मर्यादित हुन थाल्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : ०७ बजे