बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
२०७५ साल वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिवारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो।
उहाँले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्त्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ–एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो।
यसभन्दा अघि सोलार सेटमार्फत टावर सञ्चालनमा थियो । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो । अब भने विद्युत् जडान भएसँगै समस्या हटेको छ ।
बागलुङ सदरमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरी आफ्नो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका–९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँ खेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका–८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिङ्कमार्फत सेवा सञ्चालन गरिएको छ ।
अब कपिलवस्तु सालझण्डीदेखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भू–भागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताउनुभयो ।
फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।
ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकावासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार ७ : ५१ बजे
प्रतिक्रिया