डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

उपचारको क्रममा गर्भवतीको मृत्यु, दुई दिनपछि परिवारले शव जिम्मा लिए

उदयपुर । उपचारका क्रममा दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा ज्यान गुमाएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले जिम्मा लिएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेका थिएनन् । 

मृतकका परिवारले उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनु पर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निश्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएका छन् ।

पीडित परिवारलाई त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमूना माध्यामिक बिद्यालय भलायाडाडामा कक्षा १२ सम्म प्राविधिक शिक्षा निःशुल्क पढाउने मौखिक सहमति गरेका छन् । 

गर्भवतिको मृत्युपछि अस्पतालमा आफन्तले तोडफोड गरेका थिए । सुत्केरी गर्न ल्याएको गर्भवति महिलाको मृत्यु भएको भन्दै उनका आफन्तले अस्पताल तोडफोड गरेका थिए । 

राउत कार्कीको उपचार अभावमा मृत्यु भएको उनको आफन्तको आरोप छ ।  १७ फागुनमा सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएको र उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए । जिल्ला अस्पतालका चिकित्सकहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भनेर राख्दा श्रीमती मृत्यु भएको कार्कीको आरोप छ ।

अस्पतालका चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।

आन्दोलनमा उत्रिएकाहरूले चिकित्सकमाथि समेत हातपात गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । आक्रोसित भिडबाट हुनसक्ने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिटप्रति सतर्कता अपनाउँदै प्रशासनले सुरक्षाकर्मी तैनाथ गर्दै आएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ३७ बजे