‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सुखानीका सहिदको सम्झना र श्रद्धाञ्जली !

नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन आन्दोलनमा कम्युनिष्ट पार्टीले खेलेको भूमिका महत्त्वपूर्ण रहँदै आएको कुरा सर्वविदितै छ । चाहे जहानियाँ राणा शासनको अन्त्य गर्ने सन्दर्भ होस् या निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र ल्याउने सन्दर्भमा होस्; नेपाल कम्युनिष्ट पार्टीले अग्र भागमा रहेर आन्दोलनको मोर्चा सम्हालेको दृष्टान्त छ । यस सङ्घर्षमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूको भूमिका उल्लेखनीय रहेको छ । 

वि.स.२००६ सालमा कमरेड पुष्पलालको पहल र नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीले विभिन्न उतार–चढाव, टुटफुट र विभाजन तथा आन्तरिक द्वन्दका बीचमा अनेकौँ प्रतिकूलताहरूको सामना गर्दै अगाडि बढ्दै आएको छ । यस्तै प्रतिकूलताको बीचमा पूर्वी नेपालको झापा जिल्लामा त्यहाँका क्रान्तिकारीहरूले वर्गसत्रु खत्तम अभियान चलाए । 

वि.स. २०२७ सालदेखि २०३० सालसम्म भएको त्यो सशस्त्र सङ्घर्ष वास्तवमा नेपाली राजनीतिक इतिहासमा कोसेढुंगा थियो । यो सङ्घर्ष निर्दलीय पञ्चायती शासकहरूको अत्याचार, शोषण, दमनका विरुद्ध थियो । विशेष गरी जमिनदारहरूको शोषण विरुद्ध किसानहरूको सङ्गठित आन्दोलन थियो । जमिनदारहरूले मोही किसानलाई मल, बीउ आफै दिन्थे तर बाली भित्र्याउँदा त्यो सबैको हिसाब गरी पहिले आफू लिन्थे र खलामा मोहीको भागमा केही बाँकी रहँदैन थियो । यस्तो शोषण सही नसक्नुको थियो । 

यस विषयमा जमिनदारहरू किसानका कुरा सुन्दैन थिए । यस्तो अत्याचारको विरुद्ध आवाज उठाउने किसानहरूमाथि डकैती, गुण्डागर्दी, कुटपिट हुन्थ्यो र बाली नै लुट्ने काम हुन्थ्यो । यति मात्र होइन, जमिनदारहरूले आफ्ना दलालहरू लगाएर किसानहरूको हत्या गराउन समेत पछि परेका थिएनन् । 

यसरी जमिनदारहरूको अत्याचारले सीमा नाघ्दा पनि सरकार भने कानमा तेल हालेर बस्थ्यो । अझ उल्टै जमिनदारलाई साथ दिने काम गर्थ्यो । सामन्त जमिनदारहरूले यतिसम्म गरेका थिए कि धुलाबारीको माहुर माडीमा बन्दुक लिएर किसानको हत्या गर्न जाँदा किसान माहुरीको गोलो खनिएझैँ खनिएपछि ती सामन्तले गोली चलाए अनि घाइते भएका निर्दोष किसानलाई उल्टै मुद्दामा फसाइएका थिए । यति मात्र होइन,  राजतन्त्रात्मक निरङ्कुश पञ्चायती शासनका मतियारहरूले मजदुर र विद्यार्थीहरूलाई समेत गिरफ्तारी, वारेन्ट र हत्यासम्म गर्न पछि परेनन् । 

गरिब किसान, मजदुरहरू र विद्यार्थीहरूप्रति भएका यस्ता हर्कतले उग्र रूप लिन थालेपछि प्रतिबन्धका कारण भूमिगत रहेको तत्कालीन नेकपा झापा जिल्ला कमिटीले वर्ग शत्रु खत्तम गर्नका लागि गुरिल्ला सङ्घर्ष चलाउने निर्णय गर्न बाध्य हुनुपरेको थियो । जब पार्टीको झापा जिल्ला कमिटीले वर्गसत्रु खत्तम र गुरिल्ला सङ्घर्ष गर्ने निर्णय गर्‍यो, त्यसपछि थप योजनाबद्ध ढङ्गले अभियान अगाडि बढेको थियो । यसपछि झापामा चरम दमन भयो र त्यसको सशक्त प्रतिवाद गर्न र निर्णय कार्यान्वयन गर्न जिल्ला नेतृत्वमा रहेका नेताहरू केपी शर्मा ओली, आर. के. मैनाली, मदन खपाङ्गी, भोगेन राजवंशी, तिलविक्रम ढकाल, पुण्य निरौला, डम्बर बानियाँ, मोहनचन्द्र अधिकारी, अमर अधिकारी, रामनाथ दाहाल, नेत्र घिमिरे, सी.पी. मैनाली, मुकुन्द न्यौपाने, मनकुमार गौतम, नरेश खरेल, राजेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठ प्रतिबद्ध हुनुहुन्थ्यो । 

गुरिल्ला सङ्घर्षलाई व्यवस्थित बनाउन झापासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गालको नक्सलवाडीबाट तालिम प्राप्त भोगेन राजवंशी र राजेन राजवंशी झापा आएपछि  गुरिल्ला सङ्घर्षको नीति one area, one unit, one squad  one  action भयो । प्रशिक्षित कमरेडहरूबाट one man–one contact को भूमिगत राजनीतिक सम्पर्क शैली विकास र अवलम्बन गरियो । गुरिल्ला सङ्घर्षको सम्पूर्ण तयारी पूरा गरेपछि सङ्घर्ष सुरु हुनुअघि नै पार्टीका नकलबन्दा, ज्यामिरगढी, धुलाबारी, धाइजन, दुवागढी बुधबारे, शनिश्चरे, सालबाढी, गरामनी, चारपाने, घैलाडुब्बा, शिवगन्ज, भद्रपुर, सुरुड्गा, बालुबारी, केचना, गौरीगन्ज, ग्वालडुब्बा, गौरादह र केराबासीमा गाउँ कमिटीहरू सक्रिय पारिएका थिए । 

जिल्ला कमिटीले किसान र जमिन्दार बीचको सङ्घर्ष तीव्र भएको ठाउँमा एक्सन सुरु गरिहाल्न गाउँ स्तरीय स्क्वायडहरू तयार गरेको थियो । त्यसपछि २०२८ साल जेठ ३ गते ज्यामिरगढीमा पहिलो खत्तम कारबाही गरियो । त्यसको तीन महिना नबित्दै शनिश्चरेको सालबाडीमा दोस्रो खत्तम कारबाही भयो । केही समयपछि असार महिनामा तेस्रो र चौथो कारबाही गरामनिमा भयो । 

वर्ग शत्रु खत्तम अभियानले देशमा अत्यन्तै ठुलो तरङ्ग ल्यायो । झापाको गुरिल्ला सङ्घर्षको सन्देश देशभरि सनसनी फैलियो र विभिन्न ठाउँमा छरिएर रहेका कम्युनिष्ट कार्यकर्ताहरूलाई उत्साहित बनायो भने निरङ्कुश तानाशाही सरकार अति दमनकारी भएर सङ्घर्ष दबाउन सक्रिय बन्यो । प्रहरीको व्यापक दमन, धरपकड, वारेन्ट भइरहेकै बेला शनिश्चरे हात्ती किल्लामा पाँचौँ खत्तम कारबाही भयो । 

यसरी सानो झिल्काबाट सुरु भएको सङ्घर्षले सिङ्गो झापा जिल्ला त प्रभावित भयो नै यसले आसपासका जिल्लालाई समेत प्रभावित पार्‍यो । देशमा रहेका अन्य कम्युनिष्ट पार्टी र आन्दोलनलाई थप ऊर्जा थप्यो, तर निर्दलीय पञ्चायती सरकार यस सङ्घर्षलाई दबाउन कुनै कसर बाँकी नराखेर उत्रियो । कयौँ गिरफ्तारीमा परे भने हजारौँ मानिसहरू विस्थापित भए । 

यही व्यापक दमनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठ पनि गिराप्तारीमा पर्नु भयो । वहाँहरूलाई गिरफ्तार गरेर चन्द्रगढी जेलमा राखी कठोर यातना दिइयो । त्यति मात्र होइन, वहाँहरूको उच्चकोटीको बुझाइ, अदम्य, साहस, निडर भावना, दृढ इच्छा शक्ति देखेर अनेकौँ प्रलोभन देखाई आत्मसमर्पण गर्न दबाब दिए । यतिसम्म कि उमेर र हरेक हिसाबले परिपक्व रामनाथ दाहाललाई मन्त्री तथा अन्य युवाहरूलाई राष्ट्रिय पञ्चायत सदस्य(रापंस), त्यति बेलाको सांसदसम्म बनाउने आश्वासन दिए । तर राष्ट्र र जनताको मुक्तिका लागि कसम खाएका योद्धाहरूले सामन्तहरूको प्रस्ताव ठाडै अस्वीकार गरिदिनु भयो र निरङ्कुश पञ्चायती शासकसामु घुँडा नटेक्ने प्रतिबद्धतामा अविचलित रहनुभयो । 

केही गर्दा पनि पार नलागेपछि निर्दयी पञ्चायती तानाशाही व्यवस्थाका कारिन्दाहरू ‘यिनीहरूलाई जीवित राख्नु हुन्न’ भन्ने निष्कर्षमा पुगे । यही निष्कर्ष अनुसार होनहार जुझारु क्रान्तिकारी योद्धाहरूलाई चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानामा कायर सरकारले चारकोसे झाडीको सुखानीमा २०२९ साल फागुन २१ गते गोली ठोकी निर्ममतापूर्वक हत्या गरे । 

वि. सं. १९९५ सालमा तेह्रथुमको इवामा जन्मनुभएका ३४ वर्षीय रामनाथ दाहाल, वि. सं. २००४ सालमा आठराई तेह्रथुममा जन्मनुभएका २५ वर्षीय नेत्र घिमिरे, वि.सं. १९९८ सालमा ज्यामिरगढी झापामा जन्मनु भएका विरेनसिंह राजवंशी, वि.सं. २०११ सालमा गरामुनि झापामा जन्मनुभएका १८ वर्षीय कृष्ण कुइकेल, वि.सं. २०१२ सालमा फिक्कल इलाममा जन्मनुभएका १७ वर्षीय नारायण श्रेष्ठ यस हत्याकाण्डमा सहिद हुनुभयो । पञ्चायती निरङ्कुशताका सामु नझुकेर हाँसी हाँसी मृत्युवरण गर्नुभयो । सुखानीका यी महान् वीर सहिद लगायत हजारौँ सहिदहरूको बलिदानले आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । उहाँहरूले देख्नुभएको सपना सकार पार्न उहाँहरूले नै देखाउनुभएको बाटो नबिराएर अघि बढ्नु आजका कम्युनिष्ट पार्टीहरू, विशेषतः नेकपा एमालेको प्रमुख कर्तव्य र भूमिका रहनुपर्दछ । यसो गरेर मात्र सुखानीका सहिदहरूप्रति दिइएको श्रद्धाञ्जली सार्थक हुनेछ । हामी सबैले सम्झना र मनन गर्नै पर्ने यो पङ्क्ति ‘सहिदको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दै छौ कि भुल्यौँ दाजुभाइ ?!’ ले हामीलाई कर्तव्य पथमा तानिरहोस् । सुखानीका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली !!

लेखक राष्ट्रिय दलित आयोगका पूर्व सदस्य हुनुहुन्छ ।  

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ८ : १५ बजे