दलित गाउँका पहिलो शिक्षक

१० महिनामा चार लाखले लिए श्रम स्वीकृति

काठमाडौँ ।  कोरोना महामारीले थलिएको वैदेशिक रोजगार यस वर्ष तङ्ग्रिएको छ । 

२०७८ साल सुरु भए यताको १० महिनामा वैदेशिक रोजगारमा जान करिब चार लाख जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले २०७८ वैशाखदेखि माघ मसान्तसम्मको अवधिमा उनीहरूलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो । 

“‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या पहिलेकै अवस्थामा पुगेको छ”, वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भुसालले भन्नुभयो । 

उहाँका अनुसार पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । सो समयमा औसतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । 

अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको सङ्ख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिब पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ । 

“गत आर्थिक वर्ष २०७७÷०७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख १० हजारभन्दा बढी छ”,  सूचना अधिकृत भुसालले भन्नुभयो । 

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३ सय ६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६ सय ५८, साउनमा २५ हजार ४सय २८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६ सय ७१, कात्तिकमा ५४ हजार ९ सय १८, मङ्सिरमा ७४ हजार ३ सय ५४, पुसमा ६६ हजार ६ सय २५  र माघमा ५४ हजार ४ सय ७० जनाले श्रम स्वीकृति लिएका छन् । 

विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा ठूलो गिरावट आएको थियो । 

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । कोरोना महामारी नियन्त्रण गर्न प्रायः सबै देश लकडाउनमा गएपछि वैदेशिक रोजगारमा जानेको सङ्ख्या ओरालो लागेको थियो । नेपालले पनि २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । 

कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७ मा श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ६८ हजार ४ सय३३ मा झरेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारमा जान विभागबाट ४ लाख ७६ हजार ७ सय५ जनाले श्रम स्वीकृति लिएका थिए । 

वैदेशिक रोजगारमा कोरोनाले अझ ठूलो असर आर्थिक वर्ष २०७७/०७८ मा गर्‍यो । सो वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भने श्रम स्वीकृति लिनेको सङ्ख्या पुरानै अवस्थामा फर्केको छ । 

“कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्‍यो” विभागका सूचना अधिकृत भुसालले भन्नुभयो। 

कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दा यसले नेपाल भित्रने रेमिट्यान्समा असर गरेको छ । पछिल्ला महिनाहरूमा नेपाल भित्रने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ । 

नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा नेपालमा विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालमा ४ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यस वर्ष वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेको छ । यसले पुनः नेपाल भित्रने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ०४ बजे