विद्यमान राजनीतिक प्रणालीलाई जीवन दिने आधार भनेको जनअभिमत हो । जनअभिमत प्रकट हुने माध्यम भनेको नै चुनाव हो । हाम्रोमा संवैधानिक प्रावधान अन्तर्गत प्रत्येक ५ वर्षमा चुनाव हुनुपर्ने व्यवस्था छ । यो संवैधानिक व्यवस्थाको कार्यान्वयनले मात्र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जीवन दिन सक्छ । संविधान निर्देशित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जीवनमा जनअभिमतअनुरूप सञ्चालन र व्यवस्थापनमा आएको समुन्नत र समृद्ध लोकतन्त्रको रूपमा यो व्यवस्था संस्थागत हुँदै जान्छ । पछिल्लो पटक अदालतको परमादेश निर्देशित र नियन्त्रित गठबन्धन सरकारले चुनाव आयोजना गर्न गराउन चाहेको थिएन ।
दोस्रो पटक चुनाव
नेकपा (एमाले) लगायतको लोकतान्त्रिक शक्तिको लगातारको दबाबपछि वर्तमान सरकारले २०८९ सालको वैशाख ३० गतेका लागि चुनावको मिति घोषणा गरेको छ । प्राविधिक तयारीमा पुग्नुपर्ने मात्रामा ध्यान नदिए पनि यो चुनावको मिति घोषणाले चुनावका पक्षमा सडकमा उर्लिएको आवाजलाई पानी हालेर दन्किएको आगो निभाएझैँ भएको छ । फलस्वरूप, एमाले लगायतका राजनीतिक दलहरू र सहयोगी शक्तिहरू चुनावको आन्तरिक तयारीमा लागेका छन् ।
स्थानीय तह निर्वाचन कार्यान्वयन पूर्ण हुँदै गरेको यो पहिलो कार्यकाल हो । दलीय व्यवस्थामा दलहरू यसका उपरी संरचना विकासका आधार र कारक हुन् । दलहरूको भूमिका नै प्रधान र महत्त्वको रहन्छ । पहिलो कार्यकालमा अपवादबाहेक अधिकांश जनप्रतिनिधिहरू दलको चुनाव चिन्हमा जितेर आएका छन् । अर्थात् स्वतन्त्र वा बागी उम्मेदवारबाहेक अधिकांशले स्वयं संलग्न दलप्रति खसेको विश्वासको मत लिएर आएका छन् । दलप्रतिको विश्वास भनेको सम्बन्धित दलको नीति–कार्यक्रम र प्रतिबद्धताको सग्लो कार्यान्वयन हो ।
यसर्थ, राजनीतिक दलहरूले बितेको आफ्नो नेतृत्वको कार्यकालको गम्भीर समीक्षा गर्न पाएका छैनन् । आफ्नो उपस्थितिमा सम्पादित सम्पूर्ण काम कारबाहीमाथि बिचार–मन्थन र विमर्श गर्न पाएका छैनन्, भ्याएका छैनन् । तर, दोस्रो कार्यकालका लागि अब हुने भनिएको चुनावबारे विभिन्न थरिका मानिसको विभिन्न अड्कल, अन्दाज, अनुमान र अध्ययन सतहमै पोखिने गरेको छ ।
बहुसङ्ख्यक मानिसको पहुँचमा रहेको सामाजिक सञ्जाल, खासगरिकन फेसबुक, स्थानीय अनलाइन पत्रकारितालगायत सञ्चारका कैयौँ माध्यमहरूमा चुनाव र चुनावसम्बन्धी विषयवस्तुहरू रङ्गिन थालेका छन् । फेसबुकमा स्वयं उम्मेदवारको आकाङ्क्षी भएको अवस्था प्रस्टोक्ति बाहेक पत्रपत्रिका लेखाउने, विज्ञापन गराउने, कुनै न कुनै ढङ्गले छापामा ल्याउने, व्यक्ति विशेषका बारेमा अनावश्यक र अनुचित टीकाटिप्पणी अर्थात् दाबी–विरोधको अवस्था सिर्जना गर्ने गराउने काम आरम्भ भएको छ ।
यस्तो बेलामा सम्पन्न हुन लागेको पछिल्लो जनप्रतिनिधिको कार्यकाललाई एउटा फरक आँखीझ्यालबाट हेर्दा अब कस्तो जनप्रतिनिधि बनाउने ? राजनीतिक दलले कस्तोलाई चयन गर्ने र पठाउने ? अमुक राजनीतिक दल, उक्त दलको तर्फबाट अघि सारिने समग्र कार्यक्रम र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने उम्मेदवारबारे आवश्यक विमर्श गर्नु वाञ्छनीय हुन्छ ।
समीक्षा गर्नुपर्दा
सङ्घीयता कार्यान्वयनको पहिलो कार्यकालमा अपवादबाहेक अधिकांश पालिकामा नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) स्थानीय सरकारका सञ्चालन र व्यवस्थापनका मेरुदण्ड बने । दलले आफ्नो तर्फबाट उम्मेदवारको रूपमा अघि सारेका यी अनुहारहरू सरकार सञ्चालनको यो कार्यावधिभित्र कार्यकारी बने । यो शक्ति नै स्थानीय जन अपेक्षाअनुरूपका मुद्दा छिनोफानो गर्ने, समस्या सम्बोधन गर्ने र समृद्धिको आधार तयार गर्ने औजार बन्यो । यसअन्तर्गत सरकार सञ्चालन र व्यवस्थापनमा दलीय प्रभाव पर्न सक्यो कि सकेन ? दलीय मूल्य–मान्यताअनुरूपका कार्यक्रमहरू आकर्षित भए कि भएनन् ? दलले जारी गरेको घोषणापत्र अर्थात् चुनावी प्रतिबद्धताअनुरूपका कार्यक्रमहरू सम्बोधन र व्यवस्थापन भयो कि भएन ? दलीय अन्तरसम्बन्धका रूपमा स्थानीय नेतृत्व र जनप्रतिनिधि बीचको सम्बन्ध–सामिप्यता बन्यो कि बनेन ? कर्मचारीसँग नजिकै र ठेक्केदारसँग कुम जोड्ने जनप्रतिनिधिले नेतृत्वको विश्वास जित्न किन सकेन ? विषयगत सहकार्यका लागि विषयगत सल्लाहकार नजिकै राख्न किन सकेन ? राजनीतिमा हामीलाई चाहिने इमान, निष्ठा, सदाचार आदिको संस्कृति रह्यो कि रहेन ? व्यक्तिको दिनचर्यामा परिवर्तन आयो कि आएन ? स्वयंमा जनप्रतिनिधि शासक बन्यो कि सेवक ? सङ्घीयता कार्यान्वयनमा नागरिकको अनुभूति कस्तो छ ? मूलभूत विषयवस्तुमा गहिरिन सकिएन र उम्मेदवारका लागि उम्मेदवार तोक्ने काम मात्र भयो भने अमुक दलको तर्फबाट उठाइएको अर्थात् अघि सारिएको उम्मेदवार भन्न जरुरी छैन । दलको चुनाव चिन्ह– सूर्य, रुख, गाई, गोलाकारभित्र हँसिया हथौडा आदि भनेर बुझ्न जरुरी छैन ।
यसबीचमा कतिपय पालिकाका जनप्रतिनिधिहरूको भूमिका र यसको प्रभावकारिता निजामती कर्मचारीसरह मात्र १०–५ को देखियो । स्थानीय विषयगत स्रोतको पहिचान र परिचालनबारे विमर्श गर्न कहिल्यै तयार नहुनेदेखि लिएर पार्टीको नीति–कार्यक्रम, चुनावी प्रतिबद्धता, पार्टी नेतृत्व र स्थानीय जनमतका अपेक्षालाई समेत बेवास्ता गर्ने स्थिति देखियो । नीति–कार्यक्रम र बजेट विनियोजनमा यथोचित ध्यान पुगेन । मुख्यतः संविधानको परिकल्पना र मर्मअनुरूप समाजवादको आधार तयार गर्ने स्थिति बेनन । बरु, आधारभूत कामभन्दा पनि कार्यालयीय शान र अभिमान वृद्धिमा ध्यान दिने, स्थानीय क्षेत्रमा पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा बढी जोड दिने, यसबापत आयआर्जन गर्ने र प्रत्यक्ष–परोक्ष ठेक्कापट्टामा रमाउने स्थिति पनि देखियो । यो स्वयंको आचरण निर्धारणका दृष्टिकोणले त्याज्य मात्र होइन, जनमतले कहिल्यै नपत्याउने आधार समेत बन्ने खतरा छ ।
हामीकहाँ तीन वटा तहगत सरकार सञ्चालनमा छन् । तहगत सरकारमा फरक फरक राजनीतिक दलको उपस्थिति रहँदा एक अर्कामा समन्वय नभएको, प्राप्त कार्यक्रमप्रति पनि बेवास्ता र उक्त कार्यक्रम प्राप्त गर्ने प्रयत्न नगरेको देखियो । कतिपय पालिकामा बहुमत पक्षले कमजोर विपक्षीलाई सम्पूर्ण रूपले सहभागितामा निषेध गरेको पनि देखियो । यो आफैँमा लोकतन्त्रको भद्दा मजाक हो ।
कतिपय बेलामा स्थानीय सरकारलाई अख्तियार, मुद्दा–मामिला, अदालतसम्म धाउनुपर्ने स्थिति विकास भयो । परस्पर दलीय प्रतिशोधका कारण नीति र बजेटका हिसाबले निर्धारित कार्यक्रम पनि कार्यान्वयनमा नआएको, नभएको अवस्था देखियो । एउटै दलको मात्र जनप्रतिनिधिको उपस्थिति रहँदा पनि अन्तर पार्टी अन्तर विरोध उब्जेका कारण पनि समस्या उत्पन्न भएको देखियो । यसरी पनि उन्नत, समुन्नत र समृद्ध राजनीतिक संस्कारको अभावको पराकाष्ठा विकास भयो ।
कतिपय जनप्रतिनिधिहरूमा चुनाव जित्ने पार्टीको चिन्हमा अनि मेरा कारणले चुनाव जितेको हो, मैले गर्दा पो चुनाव जितेको हो, म छु र पो चुनाव जितिन्छ त भन्ने टाइपको अस्वाभाविक दम्भ पनि देखियो । टिकट नपाउन्जेल साँझ–बिहानै नेतृत्वको सम्पर्कमा रहने, सल्लाह–परामर्शमा रहने र जनप्रतिनिधिको रूपमा विजयी भएपछि अब गर्ने के होला भनेर त्यो नेतृत्वको नजिक नपर्ने बरु अर्को चुनाव नआउन्जेलसम्म झन्डै वास्तै नगर्ने पात्रगत प्रवृत्ति पनि देखियो । अर्को पटक के हो, के हो, अहिले नै अलिकति कमाइहाल्ने कि ! अलिकति जमाइहाल्ने कि ! भन्ने कलुसित मानसिकता पनि केही जनप्रतिनिधिहरूमा देखियो ।
काम कारबाही
यसबीचमा अचम्मै धेरै काम भएको क्षेत्र भनेको भौतिक निर्माण र पूर्वाधार विकासको क्षेत्रमा हो । भौतिक निर्माण र पूर्वाधार विकासको क्षेत्रमा खासगरी सडक सञ्जाल विस्तारको क्षेत्रमा गरिएका कामको गुणस्तरीयता किन दिन सकिएन ? गत वर्ष बनेका बाटा घाटाहरूमा अहिले हिँडिसक्नु छैन । यस्तो किन भयो ? सरकारी सुविधाको दोहन र विलासी जीवन कहाँबाट आयो ? आनीबानी किन बिग्रियो ? अदालत र अख्तियार किन धाइयो ? समुदाय आधारित शिक्षा, स्वास्थ्य जागरण, लोपोन्मुख समुदायको भाषा संरक्षण, तिनको लिपी उत्खनन, संस्कार–संस्कृतिको खोज अध्ययन अनुसन्धान किन भएन ? स्थानीय वस्तुको उत्खनन, सूचना, ज्ञान र चेतना विकास, प्रवर्धन र तदनुरूप सङ्गठनको क्षेत्रमा आधार तयार गर्न किन सकिएन ? मानव संसाधन विकास र समृद्धि आर्जनको पक्ष सूक्ष्म ढङ्गले सङ्गठित किन भएन ? वर्षेनी तयार हुने पढालेखा बहुसङ्ख्यक युवा शक्तिको खपत र व्यवस्थापनका लागि रोजगारमुखी कार्यक्रमहरू सञ्चालनमा ल्याउन किन सकिएन ? अहिलेसम्म पनि कृषि निर्वाहमुखी अर्थात् जीविकोपार्जनमुखी मात्र छ । यसका आधुनिक प्रविधि हस्तान्तरण किन भएन ? स्थानीय उत्पादन र उत्पादकत्व बढाउन किन सकिएन ? आयत घटाउन र निर्यात बढाउन किन सकिएन ? आदि प्रश्न उठ्ने छन् ।
यसमा आधारित सङ्कल्प र प्रतिबद्धता फेरी पनि बन्ने छ । पुनश्च: जनप्रतिनिधिको रूपमा उभिने माहौल बन्ने छ । यसबेला बहस अमुक–अमुक व्यक्तिको नाममा गर्ने कि राजनीतिक परिवर्तन र संस्थागत विकास क्रमको स्प्रिटभित्र सामाजिक र सांस्कृतिक दिनचर्यामा आधारित मुद्दाको ? गतिलो प्रश्न– त्रासको मनोविज्ञानभित्र हुर्कने छ । फाप–अफापको रूपमा सङ्घीयता अघि बढ्ने छ ।
राजकीय सत्ता भनेको राज्यको परिभाषित स्रोतको पहिचान र परिचालन हो । यससँग जोडिएको सम्बन्ध अपवादबाहेक अधिकांशमा समूह प्रेरित र स्वार्थ मोहित हुन्छ । यसर्थ, अहिलेसम्म जिम्मेवारीमा रहनुभएका उम्मेदवारलाई दोहोरिन मन लागेको होला । नयाँलाई थपिन, जोडिन मन लागेको होला ! राजनीतिक दलहरूलाई आफ्ना घोषित मूल्यमान्यता कार्यान्वयन अर्को कुनै नयाँ अनुहार अघि सार्नुपर्ने होला ! विगतको तितोबाट सिक्दै अघि बढ्न सके राजनीतिक विकास क्रम सुदृढ ढङ्गले संस्थागत बन्ने छ, नत्र अमुक अमुक व्यक्ति विशेषको चर्चा, परिचर्चाको दलदलपूर्ण भासमा जाकिनबाट हामीलाई कसैले रोक्न सक्दैन ।
प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १० : १४ बजे
प्रतिक्रिया