माओवादीमा एमसीसी कलह : नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटीमा फरक मत पेस गर्ने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय चर्को रूपमा उठ्ने भएको छ ।

गत पुस १३ गतेदेखि १९ गतेसम्म सम्पन्न महाधिवेशनको म्यान्डेट तथा फागुन ४ गतेको संसदीय दल बैठकको निर्णय विपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको विषयलाई लिएर बैठकमा चर्को रूपमा उठ्ने भएको हो ।

महाधिवेशन र संसदीय दलको निर्णय विपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आउनुभएका नेता नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रूपमा फरक मत राख्ने हुनुभएको  छ।

“एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनुभएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनुहुनेछ”, श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भन्नुभयो, ''उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगामी रणनीति तय हुनेछ ।”

उहाँका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभूत छलफल हुनुपर्ने माग नेता श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राख्नुभएको छ  ।

माओवादी केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा बिहान ११ः०० बजेदेखि सुरु हुँदैछ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : १७ बजे