सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सात सरकारी विद्यालयलाई स्कुल बस

चितवन। भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ ।

 गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ ।
 
 महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।
 
ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । ती विद्यालयलाई रु १६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिनुभयो ।
 
महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ठूलो लगानी गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन थालेको छ, यसको प्रतिफलस्वरुप सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या निकै बढेको छ ।” विद्यालयसम्म विद्यार्थीलाई सहज आवतजावतका लागि बस उपलब्ध गराउने नीति महानगरले लिएको उहाँको भनाइ छ ।
 
उपप्रमुख पार्वती शाहले यातायातको अभावमा कोही पनि शिक्षाबाट वञ्चित नहोस् भन्नका लागि महानगरले बस उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले आवश्यकता अनुसार थप विद्यालयलाई बस उपलब्ध गराइँदै जाने बताउनुभयो । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : ५८ बजे