नेपालका बहुसांस्कृतिक विशेषताहरू हाम्रो मौलिक पुँजीको रूपमा रहेका छन् : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू हाम्रो मौलिक पुँजीको रूपमा रहेको बताउनुभएको छ ।

शेर्पा समुदायको प्रमुख चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी/दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । 

विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरू हुन् भन्नुहुँदै उहाँले हाम्रो संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको बताउनुभयो । 

उहाँले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएका शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । 

उहाँले शेर्पा समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ  । 

अध्यक्ष ओलीले नेकपा (एमाले) ऐतिहासिक जनआन्दोलनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर रहेको बताउनुभएको छ । 

’समृद्ध नेपाल, सुखी नेपाली’ हामी नेपालीहरूको साझा राष्ट्रिय आकाङ्क्षा हो भन्नुहुँदै उहाँले नेकपा (एमाले)ले यसलाई आफ्नो गन्तव्य बनाएको बताउनुभयो ।

उहाँले ’समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षालाई प्राप्त गर्न स्पष्ट दूर दृष्टि, तदनुसारका नीति र कार्यक्रमहरू एवं ती नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना र आवधिक लक्ष्यहरूसहित नेकपा (एमाले) अघि बढिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : १६ बजे