डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अतिथि गृह तथा सभाहल निर्माण

लुम्बिनी।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । 

रु दुई करोड २२ लाखको लागतमा अतिथि गृह तथा रु एक करोड ५७ लाखको लागतमा सभाहलको निर्माण भएको छ । वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभाहल निर्माण गरेको नगरपालिकाले जनाएको छ । 

सो सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो । 

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले दुई बिघा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर प्रदीप वनले जानकारी दिनुभयो । 

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले आज सभाहलको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताउनुभयो । 

प्रदेशसभा सदस्य रमा अर्याल, पूर्वप्रदेशसभा सदस्य दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : १६ बजे