प्रधानमन्त्री देउवालाई अमेरिकी विदेश मन्त्रीको फोन, युक्रेनमाथि रुसी आक्रमणबारे संवाद

काठमाडौँ । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्नुभएको छ ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेश मन्त्री एन्टोनीले ट्विटरमा उल्लेख गर्नुभएको छ ।  उहाँहरूबीच मङ्गलवार साँझ कुराकानी भएको हो ।

ब्लिनकनले भन्नुभएको छ, “रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौँ ।”

नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन । नेपालले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा मतदान गरेको थियो ।  

नेपालको संसद्बाट एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग संवाद गर्नुभएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : ११ बजे