डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

महाशिवरात्री विशेष : प्रसिद्ध चिताइन महादेव मन्दिरमा महाशिवरात्री मेला

सिराहा । देवादिदेव देवहरूमध्ये प्रथम देव र देवाधिदेव सबैभन्दा ठूला देवका रूपमा मानिँदैआएका महादेवको पूजा आराधना गरिने महाशिवरात्री पर्व नेपालमा हिन्दु धर्मावलम्बीहरूले  भव्यताका साथ मनाउने गरिन्छ । 

शक्ति र कल्याणका पर्याय शिवका भक्त युवादेखि वृद्धसम्म हुने गर्छन् । अझ महाशिवरात्रीलाई त युवाहरूको प्रिय पर्व भन्दा पनि फरक पर्दैन । नेपालमा महाशिवरात्रीको दिन देश भर सार्वजनिक विदा पनि दिने गरिन्छ । नेपालको पावन भूमिमा आदिकालदेखि नै दिव्य लीलाहरूको चर्चा हुने गरेको पाइन्छ । महाभारत, रामायण, पुराण, स्वस्थानी व्रत कथा लगायत धार्मिक ग्रन्थहरुमा यस्ता लीलाहरूको वर्णन पाउन सकिन्छ । काठमाडौँमा अवस्थित श्री पशुपतिनाथको चर्चा विश्वभरका हिन्दु धर्मावलम्बीहरुले गर्ने गर्दछन् । आराध्यदेव महादेवका पीठहरू हलेसी महादेव, गोसाईँ कुण्ड, पिण्डेश्वर, जलेश्वर, कुशेश्वर, डोलेश्वर, गोकर्णेश्वर, गुप्तेश्वर, सिद्धबाबा, वैद्यनाथधाम आदि नामले नेपालका विभिन्न भूभागमा अवस्थित छन् । महाशिवरात्रीका दिन यी पिठहरूमा भव्यताका साथ पूजा आराधना गरिन्छ । यी बाहेक अन्य धाम तथा तीर्थ स्थलहरूमा पनि शिवरात्रीमा पूजाआजा गर्ने गरिन्छ । 

यसै सन्दर्भमा एउटा यस्तो पीठको चर्चा हामीले गर्नुपर्ने हुन्छ जो २५० वर्ष लामो इतिहास बोकेको प्राचीन स्थानका रूपमा स्थानीय स्तरमा ख्याति प्राप्त गरे तापनि देशव्यापि रूपमा ख्याति पाउन नसकेकेर ओझेलमा परेको छ ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकास्थित पूर्व—पश्चिम राजमार्गबाट दक्षिण तर्फ ५.५ किलोमीटर यात्रा गरेपछि लालाबन्दी नगरपालिका सकिएर हरिपुर नगरपालिका प्रवेश हुनासाथ वडा न. ७ मा पर्ने चिताइन भनिने ठाउँमा प्राचीन श्री लक्ष्मीनाथ चिताइन महादेव मन्दिर अवस्थित छ । पाँच कुमारीबाट बग्दै आएको पवित्र पाँचकुमारी नदी र पवित्र डुमडुमे नदी मिलेर चिताइन नाम पाएको नदीको तटमा अट्ठारौँ शताब्दीको मध्यतिर वि.स. १८३० देखि १८६० ताका लक्ष्मीनाथ शिवलिंग स्थापना गरी प्राण प्रतिष्ठा गरिएको थियो भनी ‘श्री लक्ष्मीनाथ चिताइन महादेव’ नामक पुस्तकका लेखक श्री देवराज पौडेलले उल्लेख गर्नुभएको छ ।  
मन्दिर स्थापनाको प्रसङ्ग रोचक छ ।

तत्कालीन चिताइन निवासी शिवरक मिर्दाहा नाम गरेका व्यक्ति श्रावण महिनामा तीर्थ यात्रामा जान भनी साथीहरूसँगै भारतको बिहार राज्यको प्रख्यात तीर्थ स्थल बैजनाथ धाम अर्थात् बाबाधाम जाँदैथिए । बाबाधाम जाने क्रममा भारतीय भूभागमा यात्रा गर्दैगर्दा बाटोमा एक सुन्दर, आकर्षक शिला देखे र उक्त शिला आफूतिर गुड्दै आएको देख्दा आश्चर्य चकित भए र अन्ततः शिलामा अदृश्य शक्ति भएको ठानी त्यसलाई घर फर्किँदा आफूसँगै लानुपर्छ भनी उक्त शिलालाई बाटो छेउमा झारपातले छोपी बाबाधाम दर्शन गर्न अघि बढेछन् ׀ बाबाधामको दर्शन गरी चार—पाँच दिनको पैदल यात्रा गर्दै फर्कने क्रममा उनले आफूले लुकाइराखेको शिला बिर्सिएर अघि बढेछन् र निकै अघि बढिसकेपछि सम्झिएर शिला छुटेकोमा पश्चत्ताप गर्न थालेछन् ׀ यत्तिकैमा दुरुस्त त्यस्तै आकारको शिला उनको अगाडि प्रकट भएछ । यो देखेर उनी अत्यन्तै आश्चर्य चकित भएछन् । यस्तो चमत्कार देखेपछि उनी फर्किएर आफूले लुकाएको ठाउँसम्म पुगेछन् तर त्यस ठाउँमा शिला नदेखेपछि भगवानको आदेश सम्झी अत्यन्त भक्तिभावका साथ त्यस शिलालाई बोकेर सर्लाहीको चिताइन स्थित आफ्नो घरमा ल्याएर राखेछन् । बाबाधामबाट फर्किएर घर पुगेको त्यो रात शिवरक मिर्दाहाले एउटा यस्तो सपना देखे जहाँ भगवान शिवले उनलाई भन्नुभयो – ‘हे भक्त ! म सामान्य शिला होइन ׀ म लक्ष्मीनाथ महादेव हुँ र घरमा बस्न आएको होइन, मलाई तिम्रो घरको पूर्व दिशाको नदी किनारमा उपयुक्त स्थानमा लगी स्थापना गर । उक्त लिङ्ग स्थापना गरी पूजापाठ गरेमा धन लाभ हुनेछ, मनोकांक्षा पूरा हुनेछन् र समाजको कल्याण हुनेछ ।’ 

यसरी लक्ष्मीनाथ चिताइन महादेव मन्दिर स्थापना भएको जनश्रुति रहेको कुरा लेखक श्री देवराज पौडेलले आफ्नो पुस्तकमा लेख्नुभएको छ । हाल यस मन्दिरका पुजारी उनै  शिवारक मिर्दाहाका सन्तति श्री रामजी मिर्दाहा रहेका छन् । 

यसरी चिताइन मन्दिर स्थापना भएपछि भक्तजनहरूको घुइँचो लाग्न थाल्यो । विशेषगरी महाशिवरात्रीको दिन ठूलो मेला समेत लाग्ने गरेको छ । पवित्र मनले मागेका सबै मनोकाङ्क्षाहरू लक्ष्मीनाथ मन्दिरको दर्शन गरेर पूरा हुने, मन्दिरमा बैगुन (भेन्टा) चढाए शरीरको रोग व्याध निको हुने जनविश्वाश रहेको छ । शिवरात्रीको अघिल्लो दिनबाटै चहलपहल सुरु हुने र राती १२ बजेदेखि नै  भक्तजनहरूँको घुइचो लाग्ने गर्दछ । मन्दिर जाने बाटोहरू रातभर मानिसको आवाजले गुन्जिरहन्छ भने दिनभर मेला भर्ने र दर्शन गर्ने मानिस र गाडीले भरिभराउ हुन्छन् । श्री लक्ष्मीनाथ चिताइन महादेव विकास समितिको व्यवस्थापनमा भव्य मेला लाग्ने गर्दछ । यस मेलामा बालदेखि वृद्धावस्था सम्मका मानिसहरूले मनोरंजन लिने गर्दछन् । एक सातासम्म लाग्ने मेलामा करिब २ लाख मानिसले भ्रमण गर्ने र करोडौं रकमको आर्थिक कारोबार हुने स्थानीय बुद्धिजिवी नरहरि धामीले बताउनुभयो । विगतमा त करिब एक महिनासम्म नै मेला रहने गर्दथ्यो । 

श्री लक्ष्मीनाथ महादेव चिताइन मन्दिर ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको रूपमा सर्लाहीमा मात्र नभई समग्र मधेश प्रदेशमै स्थापित छ । यस मन्दिरको महत्व थाहा पाएका भक्तजनहरू छिमेकी प्रदेशका झापा, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, हेटाँैडा, सिन्धुली जस्ता जिल्लाहरूका साथै छिमेकी देश भारतको बिहार राज्यको सोनबर्षा, सितामढी आदि ठाउँबाट समेत दर्शनार्थीहरू आउने गर्छन् । 

जन्मदेखि मृत्युसम्म धार्मिक सूत्रहरूमा बाँधिएको हाम्रो जीवनको अभिन्न पाटाको रूपमा पूजा, पाठ, धर्म–कर्म, तीर्थाटन रहेका छन् । अध्यात्म र धर्मले मानिसको कर्मलाई सत्मार्ग प्रदान गर्दछ । त्यस्तै, धार्मिक पर्यटनमा जाँदा भगवानको दर्शनसँगै नयाँ ठाउँ, नौलो संस्कृति, पृथक वेशभुषा, नयाँ स्वादको अनुभव गर्न पाइने हुँदा मनमस्तिष्कलाई छुट्टै खुसी प्राप्त हुने गर्दछ । यसमा मानिसहरू सत्संकल्प र गर्दछन् र सकारात्मक सोच राख्दछन् ।  

तराईका फाँटहरूलाई नियाल्दै श्री लक्ष्मीनाथ चिताइन महादेव मन्दिरको दर्शन गरिसकेपछि पर्यटकहरूले सर्लाहीका नुन्थर, बागमती ताल, नाडीमन ताल, ऐतिहासिक महत्व बोकेको मुर्तिया मन्दिर, पथ्थरकोट, शिवपुरी जस्ता धार्मिक पर्यटकीय स्थल साथै वागमती सिचाई आयोजना, सागरनाथ वन परियोजना, उष्णप्रदेशीय वागवानी केन्द्र, तेलबाली अनुसन्धान केन्द्र जस्ता स्थलहरूको अध्ययन—अवलोकन भ्रमण गरी ज्ञान तथा मनोरञ्जन लिन सक्नेछन् । देशमै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने ठाउँको रूपमा सर्लाहीको लालबन्दी चर्चित छ भने अत्यधिक उँखु उत्पादन हुने सर्लाही जिल्लाको हरिवनमा इन्दु शंकर चिनी उद्योग अवस्थित छ । यातायात तथा सुविधासम्पन्न होटलहरू समेत भएको सर्लाही जिल्ला मधेशको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ । 
 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ०६ बजे