दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्याउका बगैँचा व्यवस्थापन गर्दै किसान

खलङ्गा। जुम्लाका कृषि प्राविधिक  स्याउ किसानका बगैँचा  व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न  बगैँचामा पुगेका छन् ।

प्राविधिकले बगैँचामै पुगेर  स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् ।     प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौँ । स्याउ  किसानका बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ ।

बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन् । एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन् । गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन् । ”

बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारीदिनुभयो । “यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन् ।

यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार  किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिएको बताउनुभयो । अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौँ ।

किसान पनि निकै जागरुक भइसकेका छन् । बगैँचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन् । कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने गरेको कृषि प्रविधिक बताउँछन् । कार्यालयबाट कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि यहाँका स्याउ किसान उत्साहित बनेको चन्दननाथ नगरपालिका–३ का स्याउ किसान  बाटुली सार्कीले जानकारी दिनुभयो ।

किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ ।  स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ । स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफँै परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो ।

स्याउ सुपरजोन परियोजना जुम्लामा लागू भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने स्याउ सुपर जोन कार्यालयले जनाएको छ । रासस

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १ : ०८ बजे