साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शुक्रवारबाट देशभर ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने 

काठमाडौँ । आगामी शुक्रवार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ ।

फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

अभिनेता अर्पण थापाले कोरोना महामारीपश्चात् फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्‍याउन चुनौती रहेको बताउनुभयो ।

निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गर्नुभयो । उहाँले फिल्मको पहिलो भागले दर्शकको राम्रो साथ पाए पनि आफू सन्तुष्ट नभएका कारण आफूले आफू र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको खुलाउनुभयो ।

फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराब राजनीतिज्ञको भूमिकामा प्रस्तुत हुनुभएको छ । उहाँले आफ्नो ४० वर्षे फिल्मी करियरमा पहिलो पटक फरक र चुनौती पूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएको बताउनुभयो ।

नेपाल र विदेशमा छायाङ्कन गरिएको फिल्ममा अन्तर देशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दै छन् ।

फिल्ममा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाङ्कन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चिनियाँ गरी ६ भाषामा रिलिज हुनेछ । किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता हुनुहुन्छ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ११ : ०७ बजे