खानेपानी संस्थाको निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

बुटवल । रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ।

अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित हुनुभएको हो । एमालेका कुँवरले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गर्नुभएको हो ।

कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । कुँवरसँगै सबै पदमा उहाँकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी हुनुभएको छ  ।

निर्वाचनबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित हुनुभएको छ । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती विजयी हुनुभएको छ  ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : ०३ बजे