डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसी पास गर्छौं, सरकार नढालिदिनुस् प्रभु भन्दै प्रचण्ड–माधवले देउवासँग गुहार मागे : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफाल्नुस् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गर्नु भएको छ ।

एमाले निकट प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहँदै  अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड–माधवले नै गिजोलेको र सभामुख लगाएर रोक्दा अराजक शक्तिले खेलेर विवादित बनाएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो– ‘एमसीसी हामी पास गर्छौ, ओलीलाई जस दिनु हुँदैन भनेर प्रचण्डले नै हारगुहार गरेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने भनेपछि हिजो दौडेर गएर प्रचण्ड–माधव नेपालहरु हामी एमसीसी पास गर्छौं, गठबन्धन जोगाइदिनुस् भन्दै पाउ ढोग्न पुगेका थिए । हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर हारगुहार गरेपछि प्रधानमन्त्रीले हेर्छु कति इमानदार रहेछौ भनेर पठाउनु भएको थियो ।’

एमाले अध्यक्ष ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको बताउनु भयो ।   

ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन खुलेरै लागेको  बताउनुभयो ।  अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिध्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि भइसकेको बताउनुभयो । ओलीले भन्नुभयो – पाँच जनाको बेन्च बन्छ,दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ । अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश)त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । एमाले नढाली नहुने थियो,केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिदैनथ्यो  । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो । इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन् ।

पूर्व प्रधानमन्त्री ओलीले संसदले प्रधानमन्त्री निर्वाचित गर्नु पर्नेमा अदालतबाटै तोकेर पठाउनु न्यायलभित्रकै बेमानी भएको बताउनुभयो ।  सर्वोच्च अदालतले स्वेच्छारी निर्णय गर्दै जाँदा न्यायपालिका ध्वस्त भएको ओलीको भनाइ थियो । ओलीले असार २८ को फैसलाले मुलुकको राष्ट्रिय राजनीतिलाई परमादेशी राजनीति र जनादेशी राजनीतिमा विभाजित गरेको बताउनुभयो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  २ : ०४ बजे