दलित गाउँका पहिलो शिक्षक

राष्ट्रसङ्घमा लगेको युक्रेन सम्बन्धी प्रस्तावमा रुसद्वारा भिटो प्रयोग

काठमाडौँ । पश्चिमी देशहरूले शुक्रवार राती संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ । 

रुसले युक्रेनमाथि गरेको सैन्य आक्रमणको निन्दा गर्ने प्रस्ताव पश्चिमी देशहरूले सुरक्षा परिषद्मा लगेका थिए । उक्त प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषयमा रुसले भिटो प्रयोग गरेको हो । 

रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषद्मा उक्त प्रस्ताव माथि छलफल हुने छैन । 

राष्ट्र सङ्घको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसङ्घका स्थायी सदस्य हुन् । 

शुक्रवार राती नै सुरक्षा परिषद्का सदस्यहरुबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएइ) अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

मस्यौदामाथि अब राष्ट्रसङ्घका १ सय ९३ सदस्य रहेको महासभामा जाने बताइएको छ । प्रस्तावमा सुरक्षा परिषद्को गैर जिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शक्तिको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ । 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३९ बजे