दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्लाहीमा १० करोडको लगानीमा डेरी उद्योग सञ्चालनमा

सर्लाही । मधेस प्रदेशमै ठुलो दुग्ध उद्योग सर्लाहीको हरिवनमा सञ्चालनमा आएको छ । 

सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा शुक्रवार उक्त डेरीको एक समारोहकाबीच उद्घाटन गरिएको हो । 

मंगलम डेरी एण्ड फुड ईन्डस्ट्रीजको रूपमा सञ्चालनमा आएको उद्योगको स्थानीय वयोवृद्ध बबर जङ्ग थापाले उद्घाटन गर्नुभएको उद्योग सञ्चालक राघोप्रसाद सिंहले जानकारी दिनुभयो । 

उद्योग सञ्चालक सिंहका अनुसार यस उद्योग १० करोड लागतमा तयार गरिएको हो । यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तिरिय दुग्ध पदार्थ उत्पादन गर्ने उहाँको भनाइ छ । 

दैनिक १६ हजार लिटरसम्म दूधका परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले उल्लेख गरेको छ । यस उद्योगबाट छुर्पी, पोका दूध, दही, घ्यु, पनिर, नौनी, खुवा, आइसक्रिम, कुल्फी, मिठाई, चकलेट लगायतका परिकार उत्पादन गर्ने योजना रहेको छ । उद्योगबाट उत्पादन भएका पदार्थ सर्लाही सहित रौतहट, बारा, पर्सा, महोत्तरी र धनुषा सम्मका बजारमा पुर्‍याइने उद्योगका प्रबन्ध निर्देशक सबल सिहंले बताउनुभयो । 

स्थानीय स्तरमा उत्पादन भएका दूध सङ्कलन गरेर प्रयोग गरिने उद्योगले जनाएको छ । स्थानीय स्तरमा यती ठुलो उद्योग सञ्चालनमा आएको भन्दै दूध उत्पादक किसानमा समेत खुसी छाएको छ । प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १ सय ५० बढी नागरिकले रोजगारी पाउने छन् ।

उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिहंले जानकारी दिनुभयो । 

उद्योग उद्घाटन समारोहमा मधेस प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईँ, उप मेयर रेणुका पौडेल, सियाराम सिंह, माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकी, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, काँग्रेस नेता राम प्रसाद मैनाली, हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन १० का वडाध्यक्ष शम्भु मैनाली, टेक बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३२ बजे