‘नेशनल डे कन्सर्ट’ सम्पन्न

होलीको साईतमा मेलम्चीको पानी आउँदा दंग काठमाडौंवासी

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी काठमाडौंबासीको धारा धारामा आउन थालेपछि सर्वसाधरणमा खुसीको रौनक बढेको छ । पहिलो दिन आज सुन्दरीजलबाट बितरण लाइनमा छोडिएको पानी दिउँसो २ बजेसम्म ट्याङ्कीमा भरिएको थियो । त्यसपछि पानीको बितरण तालिका बनाएर काठमाडौं बासीको घर घरमा मेलम्चीको पानी वितरण भईरहेको छ ।

पहिलो दिन आज मेलम्चीको पानी महाकांलचौरस्थित पानी ट्यांकीबाट वितरण सुरु गरिएको खानेपानी घरको धारामा आउन थालेपछि काठमाडौंका स्थानिय विशेष गरि महिलाहरु औधी खुसी भएका छन् ।  विगत लामो समयदेखि  पानीको समस्या झेल्दै आएका उनिहरु सुविधासम्पन्न काठमाडौंमा बसेपनि घण्टौ पानीको मुहानमा लाइन बस्न बाध्य थिए । कहिले मध्य रातमा पानी थाप्नुपर्ने समस्या त कहिले कार्यालयको समय नै माया पारेर पानी भर्न बस्नुपर्ने  झण्झटबाट मुक्त भएकाले सर्वसाधरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई मुरीमुरी धन्यवाद दिएका छन् । हुनपनि सरकारले होलीको शुभसाईत पारेर काठमाडौंका धारामा पानी झारेको छ । महांकालचौरबाट वितरण भएको पानी महांकालचौर, चाबहिल, कुटुबहाल, देवकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, सिफल, कालोपुल, एयरपोर्टहाइट,देवकोटा सडक लगायतका एरियामा झरेसँगै होली थप उल्लासमय बनेको हो ।

काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ देखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएको थियो । २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो । मेलम्चीको पानी काठमाडौँ ल्याउने अवधारणालाई कार्यान्वयनमै ल्याउन २०४८ मा पुनः अध्ययन भएको थियो । विसं २०५४ मा मेलम्ची खानेपानी विकास समिति गठन गरी विभिन्न विकल्पबारे गरिएको अध्ययनले मेलम्ची नदी नै उत्तम विकल्प हो भन्ने निष्कर्ष निकालेर २०५६ देखि यसको विस्तृत डिजाइनको काम सुरु गरी २०५८ मा सम्पन्न भएको थियो । डिजाइनको काम सम्पन्न भए पनि २०६३ सम्मको समय यसको प्रारम्भिक तयारीमा बितेको थियो ।

२०४७ सालमा  कृष्णप्रसाद भट्टराईले विभिन्न सन्दर्भमा मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकामा ल्याउनुपर्ने चर्चा गर्नुभएको थियो ।
आर्थिक वर्ष २०६५/६६ मा मात्रै सुरुङमार्ग निर्माणका लागि प्रक्रिया सुरु भयो । विसं २०६६ मा चिनियाँ कम्पनी चाइना रेलवे कर्पोेरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाए पनि उसले सुरुङ निर्माणका लागि साढे तीन वर्ष काम ग¥यो । यसले काममा ढिलाइ गरेपछि ठेक्का नै रद्द गरियो ।

सुरुङ निर्माणको बाँकी काम गर्न २०७१ सालमा इटालीको कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्स्ट्री (सीएमसी)सँग ठेक्का सम्झौता भयो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले आयोजनाको काम प्रभावित भएपछि दुई वर्ष मेलम्चीको कामले गति लिन सकेन ।

सुरुङ निर्माण २०७४ चैत २७ मा सीएमसीले पूरा ग¥यो । सुरुङ फिनिसिङ, हेडवक्र्सलगायतका काम अगाडि बढाउन नपाउँदै सीएमसीले २०७५ पुसमा आयोजनाबाट हात झिकेपछि सरकारले सो कम्पनीसँगको ठेक्का रद्द ग¥यो । त्यसपछि सुरुङमार्ग, हेडवक्र्स र फिनिसिङलगायतका काम सम्पन्न गर्न चीनको सिनो हाइड्रो कर्पोरेसनसँग गत २०७६ असोजमा ठेक्का सम्झौता भई काम अगाडि बढ्यो ।

एक वर्षभित्र सुरुङमार्गको फिनिसिङ र हेडवक्र्सको काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारीले काम प्रभावित हुन पुग्यो । कोरोना महामारीपूर्व नै सिनो हाइड्रोले निर्माणलाई तीव्रता दिएकाले सम्झौताको पाँच महिना ढिला गरी आयोजना निर्माण सम्पन्न भएको हो । 

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने पहिलो राष्ट्रिय गौरवको आयोजना बन्न सफल  भएको छ । बहुप्रतिक्षित मेलम्चीको पिउन योग्य खानेपानीले होली खेल्न पाउदा काठमाडौंवासीले सरकारको खुलेर प्रसंसा गरेका छन् । जे हवस ढिलै भएपनि काकाकुल काठमाडौंमा मेलम्चीको पानी खाने सपना पुरा गरेकोमा सरकार धन्यवादको पात्र बनेको छ । 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : १२ बजे