‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौंमा आयो मेलम्चीको पानी

काठमाडौं– काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउन सुरु गरेको छ । उपत्यकाका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले जनाएको छ ।

पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । उहाँले भन्नुभयो, “पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।”

पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उहाँले भन्नुभयो, “त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।”

आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । 

मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । 

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ४८ बजे