‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो

काठमाडौं ।  नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०–० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपालले आधा दर्जन गोलका अबसर सृजना गर्यो । तर ‘फिनिश’ दिन सकेनन । पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो । दोस्रो हाफको दश मिनेटभित्रै सञ्जोग राईलाई विशाल राईले र रबिशंकर पासवानलाई सुनिल बलले प्रतिस्थापित गर्नुभयो । दुबै खेलाडी आएपछि नेपालले आक्रामक प्रयास गर्यो तर बङ्गलादेशी डिफेन्डर मेहेदी हसन र अब्दुल्लाहले ब्लक गर्दै विफल तुल्याउनुभयो ।

५८ औं मिनेटमा अञ्जन विष्टले र ६० औं मिनेटमा अभिषेक रिजालले बङ्गलादेशी डिफेन्सलाई चिर्न सक्नुभएन । सुनिल बलले ६२ औं मिनेट दिनुभएको कर्नरलाई त्रिदेव गुरुङले हेडरमार्फत् गोलमा परिणत गर्ने प्रयास गर्नुभयो । तर सफल हुनुभएन ।
७७ औं मिनेटमा बङ्गलादेशले गोल गर्ने अबसर पायो तर गोलकिपर किरणकुमार लिम्बूले उक्त प्रयासलाई विफल तुल्याउनुभयो ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई बङ्गलादेशले १–० ले हराउँदा तथा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दा बङ्गलादेशले नेपाल बिरुद्धको खेल अगाडि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ४५ बजे