‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौंको आकाशमा धुलोसँगै धुवाँ : वायुप्रदूषणले चार अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड

काठमाडौं । शुक्रबार दिउँसोबाट काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित बनेको छ।  दिउँसो करिब २ बजेबाट वायुमण्डलमा धुलोसँगै धुवाँ मिसिएको मौसमविदहरुले बताएका छन् । यसले उपत्यकाको भिजिबिलिटीसमेत ह्वात्तै घटाएको छ। अहिले काठमाडौंको भिजिबिलिटी एक किलोमिटर मात्रै रहेको बताइएको छ । 

 वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको हो । प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान–अवतरण प्रभावित बनेको बताइएको छ ।यसैगरी आन्तरिक उडानहरु पनि वायु प्रदुषणका कारण प्रभावित बनेका छन् । पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई समेत जनकपुर डाइभर्ट गरिएको छ ।

नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ४ : ५७ बजे