तेन्जी १८ औँ पटक सगरमाथामा

सोलुखुम्बु – जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको छ । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड उहाँ सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुग्नुभएको कम्पनीले जनाएको छ ।

      सोही कम्पनी मार्फत सगरमाथा आरोहणमा जानुभएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरीकन नागरिक डोन र एरिक तथा बेलायती नागरिक ज्याक सहित उनीहरुका ४ जना सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरोमा पुगेर फर्केको आधारशिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिनुभयो । उहाँहरु अब तीन दिनमा आधारशिविर आईपुगेर काठमाण्डौँ फर्कने बताइएको छ ।

      आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेका थिए भने आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भएपनि एकिन विवरण भन्न नसकिने उहाँको भनाइ छ ।  जोखिम न्यूनिकरणका लागि एक अर्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो ।

      यस्तै सयौ आरोही अनुकुल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइएको छ । तर केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताउँनुभयो । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुनसक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ । 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ६ : ०० बजे