..पोथा पल्टाइरहन्छु,कलम समाइरहन्छु
ज्ञानका पछि लागेको छु ,धनलाई धेरै पछि छाडेको छु
आफैलाई बालेर प्रकाश छरिरहन्छु
तथापि काला मनहरू देखेर झोक्राइरहन्छु
मान्छेलाई आफ्नै काँधमा बोकेर मान्छेको उचाइ नापिरहन्छु …
प्रगतिशील उपन्यासकारका रूपमा परिचित नारायण ढकालले एक सुपरिचित फेक अनलाइन खबरमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै नेकपा एमालेको पार्टी एकता र देशका नै ठुला समस्या हुन् भनेका छन् । आफूलाई प्रगतिशील वा प्रगतिवादी स्रष्टा भने पनि ढकालका लेखहरूमा ओली विरोधी भँडासबाहेक केही पाइन्न । उनका लेखमा मार्क्सवादी मान्यता फिटिक्कै पाइन्न । उनको उक्त मार्क्सवादी वा गैर प्रगतिशील लेख पढेपछि यस लेखकले आफ्नै भोगाइका नकारात्मक इष्र्या मात्र गर्ने कतिपय प्रगतिशील वा प्रजातान्त्रिक खोटा सिक्कालाई लक्षित गरेर लेखेको व्यङ्ग्य कविताका अंशलाई सिरानी हालेको हो । पिँधबिनाका लोहोटाहरू सब कोहीका हुन्छन् तर पिँध सहितका लोहोटाहरू दृष्टिकोण सहित आफैँ ठिङ्ङ उभिन्छन् र तिनले ढकाल खालका अनेक किसिमको दुराग्रह र भ्रममा परेकाहरूलाई चुम्बकले तानेझैँ तानेर ठिक बाटोमा हिँडाउने सामर्थ्य राख्छन् । यो जावो लेखक त नकारात्मक ईर्ष्या गर्ने नेता, स्रष्टा र लेखकहरूबाट भुक्तभोगी छ भने ओली त अहिले देश र दुनियाँका प्रतिक्रियावादीको आँखाका कसिङ्गर नै हुनु भएको छ ।
तर यो लेखक अमुक पोखरेलथरि कमजोर नेतालाई थर, गोत्र र प्रवरका आधारमा महान् दाजु भन्न सक्दैन र जसकसैलाई पनि जसकसैले अति निन्दा गरेको यो लेखक पटक्क देखिसहँदैन । ढकालले ओलीलाई लगाएका मनगढन्ते फतुर आरोपहरू बर्खे पानीका फोकाझैँ छिनभरमा फुट्छन् र फुटाइन्छन् । यसको प्रत्यक्ष अनुभव इटहरीमा २०६८ सालमा नेपाल नेपाली हुनुमा सर्वाधिक गर्व गर्ने विषय अर्थात् नेपाल एकीकरण दिवस भनेर वा पृथ्वीनारायण शाह लगायत योद्धाहरूको स्मृतिमा कार्यक्रम गर्ने सन्दर्भमा दिलकुमार बन र यो लेखक इटहरी र यस आसपासमा एक्लैजस्ता थियौँ । यो कार्यक्रमको आयोजना गर्ने हामीलाई साराले प्रत्यक्ष वा परोक्ष रूपमा मण्डले, राजावादी, पुनरुत्थानवादी आदि अनेक आरोप लगाएर हैरान पारेका थिए । राम्ररी सम्झाइ बुझाइ गरेपछि क्रमशः समय क्रममा उपर्युक्त कार्यक्रममा इटहरीवासी सबै सहभागी भए । त्यसैले एक सत्यले हजार झुट समाप्त पार्ने हिम्मत यही लेखकसित छ । अहिले नेपालको राजकीय र राजनीतिक क्षेत्रमा फैलाइएका तमाम भ्रमहरू यही लेखक एक्लै पनि छिमल्ने तागत राख्छ ।
ढकालले यही सरकारले जनता आवास कार्यक्रम, भूकम्पबाट क्षतविक्षत भएका गाउँ, बस्ती, मठमन्दिर, बारा पर्सामा सुनामीबाट घरबार विहीनहरू सहितका गरी हालसम्म ७ लाख घरहरू बनाएको, दूर दराजका प्रसव पीडाबाट छटपटिएका गर्भवतीहरूलाई उद्धार गरेका सूचना आफैँ लिए हुन्छ ।
अहिले त विभिन्न प्राज्ञिक संस्थामा एकाध बाहेक पार्टी नेताका कृपाका आधारमा राजनैतिक नियुक्ति वा जागिर खाने भूतपूर्व उपकुलपतिहरू समेत कोरोनाका केही समस्याका आधारमा सरकार असफल भएको पर्चा प्रकाशन गर्नुलाई यसले अचम्म मानेन पदका उपकुलपति भन्दा गहन ज्ञान र त्यसको प्रकाशन गर्ने चाहिँ महान् व्यक्ति हुन् । सरकार एक थोपो सरकार नदेख्ने तर छिद्र खोजी खोजी अलिकति पनि धैर्य नगरी हतारपतारमा वक्तव्य र लेख जारी गरेर जनतालाई भ्रमित पार्ने परराष्ट्रविद् पाण्डे र प्रबुद्ध बारे यो लेखक जानकार छ । सरकार कहिल्यै सफल भएको नदेख्नेहरुले अहिले असफल देख्नु कुनै अचम्मको बात नै होइन । यसै सिलसिलामा ढकाल पनि तिनकै लहरमा देखा परेका छन् । तर गोयवल्स शैलीमा हजार झुटका भरमा असत्यलाई सत्यजस्तो आभास दिएर भ्रमित पार्न खोजे पनि त्यो धेरै दिन टिक्दैन ।
नारायण ढकालको यही जेठ ५ गते प्रकाशित प्रधानमन्त्री ओली विरोधी नितान्त निजी दुराग्रह पूर्ण लेख पढेपछि धेरै पढे लेखेपछि कतिपयको बुद्धि, विवेक साँघुरो हुन्छ भन्ने आभास भयो । आग्रह र आदतकै भरमा अतार्किक र मनगढन्ते लेख लेखेर क्षणिक आत्मरतिमा रम्न सकिन्छ । तर त्यो केही छिनपछि खै के को न्यानो जस्तो हुने निश्चित देखिन्छ । किनकि यथार्थ, सत्य र तथ्यलाई धेरै दिन ओझेल पार्न सकिन्न ।
जननेता मदन भण्डारी र जबजको एकतारे विरोध गरिरहने तर त्यसैका प्रकाशमा सभासद् समेत बनिसकेका ढकालले ओलीलाई धारे हात लगाउनु अति सामान्य मानवीय स्वाभाविक हो ।
निम्न पुँजीवादी चिन्तन र चरित्रग्रस्त ढकाल पार्टीबाट आफैँ पलायन भएका हुन् तर जबज अनुसार मात्रात्मक परिवर्तनलाई गुणात्मक रूपान्तरण गर्न निजी सम्पत्ति समेत ट्रस्टका नाममा सुम्पने ओलीलाई बारबार कटाक्ष र कटु आलोचना गरिरहेका ढकालको नियत के हो ? ओलीका बाल्य सखा भद्रपुर, झापा प्रबुद्ध प्रा.डा. केआर खम्बुद्वारा लिखित छायाको लस्कर कृति ढकालले पढिहालेदेखि ओलीलाई राम्ररी चिन्ने थिए । देवकोटाले एक कवितामा …दर्शन किन्तु कहीँ दिँदैन चर्म चक्षुले कानामा भनेझैँ ढकालले लामो सङ्गत गरे पनि ओलीलाई अन्तर्यबाट चिनेको जस्तो लागेन । मानिस र उसको मतिमा बाह्य जीवन र जगत्को प्रभाव पर्छ । काठमाडौँ खाल्टो र अझ काँठमा नै जन्मेर,त्यहीँ बर्सौँ जमेर बसेपछि उसको दिल र दिमाग पनि जाम भएर बसेको हुन्छ । सदा प्रवाहमान नदी झैँ उसको दिमाग प्रवहणशील र स्वच्छ हुँदैन ।
आग्रह र आदतकै भरमा अतार्किक र मनगढन्ते लेख लेखेर क्षणिक आत्मरतिमा रम्न सकिन्छ । तर त्यो केही छिनपछि खै के को न्यानो जस्तो हुने निश्चित देखिन्छ । किनकि यथार्थ, सत्य र तथ्यलाई धेरै दिन ओझेल पार्न सकिन्न ।
ओली नै पार्टी एकताका र देशका प्रमुख समस्या हुन् भन्ने ढकालले यही कुरा नवनिर्मित धरहराको २२ औँ तलामा चढेर, मेलम्चीको पानी पिउँदै, आकर्षक र भव्य रानी पोखरी हेर्दै र विस्थापित तुइन भएर झोलुङ्गे पुलबाट सहज रूपमा आवागमन गरिरहेका जनता हेरे भने कति जाती हुन्थ्यो । पार्टीको अन्तरिम विधानअनुसार सकेसम्म पार्टी एकता जोगाउन भरमग्दुर प्रयत्न गर्ने ओली र त्यसलाई भताभुङ्ग र लथालिङ्ग पार्न अहोरात्र कन्दनी कसेर लागिपरेका दाहाल नेपाल नदेख्नु ढकालको कमजोरी होइन, उनको मार्क्सवादी दृष्टिकोणको गम्भीर कमजोरी हो । शत्रु नै घोषणा गरेपछि ओलीले पार्टी एकता र देशको सुख ,शान्ति र समृद्धिका खातिर गरेका कामहरू देख्नु हुँदैन, यो धर्म विपरीत हुन्छ । सरकारले २०७६ साल फागुन २१ गतेसम्म गरेका सबै कामहरूको समग्र विवरण समृद्धिको आरम्भ नामको सरकारले प्रकाशन गरेको पुस्तिका हेरे हुन्छ । त्यस यताको प्रगति विवरण प्रकाशित भएपछि हेरे हुन्छ तर हेर्दाहेर्दै मुर्छा पनि पर्न सकिन्छ त्यसैले ,यसमा बेलैमा होस गरे हुन्छ ।
ढकालले यही सरकारले जनता आवास कार्यक्रम, भूकम्पबाट क्षतविक्षत भएका गाउँ, बस्ती, मठमन्दिर, बारा पर्सामा सुनामीबाट घरबार विहीनहरू सहितका गरी हाल सम्म ७ लाख घरहरू बनाएको, दूर दराजका प्रसव पीडाबाट छटपटिएका गर्भवतीहरूलाई उद्धार गरेका सूचना आफैँ लिए हुन्छ । सूचना र अध्ययनको सीमाका कारण ढकालहरू सरकारलाई केही पनि गरेन भन्न सक्छन् तर काठमाडौँको खाल्टोभन्दा पनि बाहिर देश छ भनेर हेर्दा जगजाहेर हुन्छ । त्यहाँ गएर सरकारले केही नै गरेन भन्दा जनताले ढकालको बोली बन्द गरिदिन्छन् । फेक, पेड र मेड मिडियाका भरमा र त्यस्तै खालको विचार प्रवाह गरेर धेरै दिन दुनियाँ छक्याउन सकिन्न । त्यति मात्र होइन पछि परेका र पारिएका तथा सीमान्तकृत जनता हितमा सरकारले गरेका आर्थिक भौतिक लगायत सेवा सुविधा र तिनका लालाबालालाई निःशुल्क शिक्षा, छात्रवृत्ति, प्याड वितरण, खाजाको व्यवस्था, दूर दराजमा छात्रावासको व्यवस्था विद्यालयको भौतिक पुन निर्माण जस्ता संविधान अनुसार गरिएको व्यवस्थालाई गैर समाजवादी भन्न मिल्छ ? हुँदा खानेहरूलाई राज्यले र सरकारले सकेसम्म प्रत्यक्ष अनुभूत हुने गरी गरेको, गरिरहेको कार्यक्रम के पुँजीवादी हो ? अनि अवस्था यस्तो देखादेखी कुरै नबुझी प्वाक्क मुखबाट ओलीले समाजवादी विचारलाई कहिल्यै पछ्याएका थिएनन् भन्न सुहाउँछ कविजी ? यस्ता कुराले त हामीजस्ता स्रष्टाको पनि बेइज्जती हुने भयो । सर्जक भनेको त सामान्य पेटु मानव होइन नि । प्राज्ञिक भनेको भातलाई भन्दा भविष्य देख्ने उच्च स्तरको ज्ञान र विवेक भएको प्राणी हो नि । यसलाई कुन मुखले के बोल्ने पनि कसैले सिकाउनुपर्छ र ? कन्फर्टेवल सरकार बनाउने चाहिँ प्रगतिशील, कम्युनिष्ट र वामपन्थी अनि त्यसका विरुद्ध ज्यु ज्यान लगाएर जुध्ने चाहिँ दक्षिणपन्थी ?, वाह ढकालको परिभाषा ? । नोकरसाही जनवादी शैलीमा लगातार १५ वर्ष पार्टी महासचिव हुने, प्रधानमन्त्री हुने र अझै उपयुक्त पदमा हत्तेहालेर लाग्ने साधु अनि एक पटक अध्यक्ष हुने ओलीलाई शक्ति हत्याउन सिपालुभन्दा ढकालकै सन्तान र छरछिमेकले पत्याउँदैनन् । जबज सिद्धान्तका रक्षा कवचलाई सिद्धान्त र विचार विहीन भन्ने ढकाल लोभी पापी गुट र जबजको च्याप्टर क्लोज गर्नेलाई चाहिँ सिद्धान्तनिष्ठ देख्छन् अचम्म । यो त सोचमा नै खिया परेको बुझाइ हो ।
ओली नै पार्टी एकताका र देशका प्रमुख समस्या हुन् भन्ने ढकालले यही कुरा नवनिर्मित धरहराको २२ औँ तलामा चढेर, मेलम्चीको पानी पिउँदै, आकर्षक र भव्य रानी पोखरी हेर्दै र विस्थापित तुइन भएर झोलुङ्गे पुलबाट सहज रूपमा आवागमन गरिरहेका जनता हेरे भने कति जाती हुन्थ्यो ।
संसद् पुनः स्थापना पश्चात् नैतिकताका आधारमा ओलीले राजीनामा दिनुपर्छ भन्ने ढकाल कन्फर्टेवल सरकारका समर्थक ढकाल नैतिकवान् हुन् ? फेरि ओली प्रधानमन्त्री भए लोकतन्त्रको विडम्बना भन्ने ढकालका लागि जाली, झेली, किर्ते तथा हत्या आरोपमा सर्वोच्च अदालतमा पेसी चढेका सभामुख ढकालका लोकतान्त्रिक आदर्श हुन् ? ओलीलाई नाकाबन्दीका बेला चर्को भारत विरोधी भन्ने ढकाल नेपालका कि भारतीय नागरिक हुन् ? उनका परम मित्र सङ्ग्रौलाले झैँ भारतस्थित रक्सौलमा आश्रय लिएर ओलीले नेपालतिर ढुङ्गमुढा बर्साउँदा राष्ट्रवादी हुनुहुन्थ्यो ? उहाँले भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्नु हुँदैनथ्यो अनि नाकाबन्दीका पक्षमा जनता उकास्नु पर्थ्यो ? हुँदाहुँदै ढकाल ओली हिन्द राष्ट्र र राजतन्त्र फर्काउन चाहन्छन् भन्ने सम्मका कुतर्क गर्न भ्याउँछन् । नेपालको संविधानमा दुईतिहाई विपरीत ढकालले भनेझैँ कसैले केही गर्न सक्तैन । यो कुरा कुन केटाकेटीले पत्याउँदैन । एक छिनको खपतका लागि जे पायो त्यही बोल्ने? संविधानअनुसार प्रधानमन्त्रीले अनुकूल समयमा विश्वासको मत लिने हो । यस कुरामा ढकालको सल्लाहमा ओलीले विश्वासको मत दिनु पर्ने हो र ? पार्टी निर्माणमा सिद्धान्त र विचारको सर्वोपरि भूमिका हुन्छ । सूर्य कति माथिबाट उदाउँछ तर संसारभरि प्रकाश छर्छ । जननेता मदन भण्डारीको नामसमेत लिन पनि पटक्क नमान्ने ढकालले माधवले नै पार्टी निर्माणमा भूमिका खेलेको भनेको देख्दा के को आसमा नेपालको यत्रो तरफदारी कविजी ?
ओलीलाई शत्रु र पत्रु नै घोषणा गरिसकेपछि उहाँको सरकार स्विकार्न ढकालको लेखकीय नैतिकताले पनि दिएन । समस्याको चुरो यही हो ।
सारमा नेपाललाई सदा अविकसित भएको देख्न चाहने र अझ रसातलमा डुबाउने नियतका साथ भित्री र बाहिरी शक्तिहरू लागि रहेको देखिन्छ । यो नै यस देशको ठुलो दुर्भाग्य हो । सामान्य विवेक पनि छैन भने मानिस आँखा भएर पनि अन्धो हुन्छ । सिद्धान्तनिष्ठ कार्यकर्ता र नेता मात्र जस्तासुकै परिस्थितिमा पनि सतिसाल झैँ आजीवन ठिङ्ङ उभिन्छन् । ढुलमुल र सिलबरझै छिटै तात्ने सेलाउने चरित्रहरू पार्टीमा आउँदा न आउँदा के नै फरक पर्छ र ? ओलीले भनेझैँ डाक्टरले होइन दृष्टिकोणले देशलाई सही दिशा निर्देश गर्न सक्छ । भण्डारी र उहाँको नेतृत्वमा निर्मित प्रतिपादित जबजले समाजवाद उन्मुख दिशा निर्देश गरेको छ । समाजवादमा पनि त्यस बेलाको संविधान अनुसार बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेको लगायत जबजको अत्यन्त सही दिशा दृष्टिलाई साकार पार्ने दिशामा ओली सक्रिय हुनुहुन्छ । निष्कपट मनहरू मात्र यो कुरा देख्छन् र बुझ्छन् । दुराग्रहीले किमार्थ देख्दैनन् । मदन बाचुन्जेल उहाँलाई देशी विदेशीले एकोहोरो तीर बर्साउँथे । मदनले भनेझैँ मानिस आफूसित तर्क सकिएपछि, रिसाउँछ, अनि हार्ने अवस्था देखेर रिसाउँछ र आफूले गल्ती गरेपछि तीन अवस्थामा रसाउँछ । त्यसैले यस्ता मनुवाहरू तर्क, तथ्य र सिद्धान्त नभएपछि कलमलाई झट्टी वा अस्त्रका रूपमा प्रयोग गरेर गालीको बौछार गर्छन् । ढकालका यस्ता अस्त्र पानीका सरि छिनभरमा फुट्छन् ।
प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार ९ : १३ बजे
प्रतिक्रिया