सात महिनामै ‘कोमा’मा पुग्यो गठबन्धन : सत्ता छोड्ने नछोड्ने निर्णय गर्दै माओवादी

काठमाडौँ । अदालतको परमादेशबाट सत्ता समालिरहेको सत्ता गठबन्धन सात महिनामै धरापमा परेको छ ।

संसद्मा पेस भएको एमसीसी अनुमोदनको विषयले ‘आयुसियु’मा रहेको गठबन्धन विस्तार बिस्तारै ‘कोमा’मा पुग्दै छ । एमसीसीको विषय पेचिलो बनेसँगै गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्ने बारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् । 

‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

तर, अन्तिम टुङ्गोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिनेछ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौँ फर्किँदै छन् । 

संसद् बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ । 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : १२ बजे