केपी ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनिदिन प्रस्ताव गर्नुभएको छ ।  

आज प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष ओली बीच भएको भेटवार्ता लगत्तै ओलीलाई भेट्न पुगेका अध्यक्ष दाहालले ओलीलाई पुनः प्रधानमन्त्री बनिदिन भन्दै प्रस्ताव राख्नुभएको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको पुष्टि गर्नुभयो । 

‘उहाँले (प्रचण्ड)को तपाई (केपी ओली) प्रधानमन्त्री भइदिनुस्, हामी सहयोग गर्छौं भन्ने प्रस्ताव छ,’ भट्टराईले भन्नुभयो , ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ।’ भट्टराइले भन्नुभयो ।  

तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईको भनाइ छ।

तत्कालीन नेकपामा एउटै पार्टीमा भएका ओली–प्रचण्डबीच पार्टी विभाजनपछि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको थियो। तर, अमेरिकी नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि दुई नेता आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्तामा जुट्नुभएको छ ।   

आज बेलुका सात बजे प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच पुन वार्ता हुँदैछ । आज बेलुकाको वर्ताले नै मुलुकको राजनीतिक नयाँ कोर्श तय गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ५९ बजे