गठबन्धन धरापमा ,जुनसुकै बेला फुट्न सक्छ : थापा 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको भेटवार्तापछि महामन्त्री थापाले एमसीसी सदनबाट अनुमोदन गर्ने विषयले गठबन्धन धरापमा परेको बताएका हुन् । 

एमसीसीका विषयमा गठबन्धनभित्र सहमति नपुग्ने निष्कर्षमा पुगेको भन्दै उनले भने, ‘एमसीसीमा गठबन्धनको दलहरू एक ठाउँमा उभिन नसक्ने भएपछि थप छलफल गरिराख्नु परेन ।  जस कारण  गठबन्धन धरापमा परिसक्यो ।’

सो छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगनकुमार थापा र एमाले संसदीय दलका नेता तथा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो  । 

बिहीबार साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच  प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ५ : ३० बजे