एमसीसी सकस : प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । आज बिहान प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको थियो । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी हुनुभएको हो ।

प्रेस संयोजक शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घण्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ०८ बजे