साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ए डिभिजन फुटबल क्लबहरुलाई काठमाडौँ महानगरको १०/१० लाख अनुदान सहयोग 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्लाका ५ वटा ए डिभिजन फुटबल क्लबलाई १०/१० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । 

महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले आज क्लबका अध्यक्षहरूलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभएको हो । 

चेक हस्तान्तरणसँगै मेयर शाक्यले विजेता फुटबल क्लबलाई ५÷५ लाख रुपैयाँका दर प्रोत्साहन दिने घोषणा समेत गर्नुभयो ।  

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बेल्नुहुँदै मेयर शाक्यले, खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहार्द्यता राजनीतिक क्षेत्रले सिक्नुपर्ने पाठ भएको बताउनुभयो । 

“खेलकुदले सामाजिक र आर्थिक विकास गर्छ ।  रोजगारी सिर्जना गर्छ । त्यति मात्र होइन यसले विश्वभर देशको गौरव बढाउँछ ।” उहाँले भन्नुभयो, “अनेक आयाम भएको खेलकुदले स्वस्थ्य सहर निर्माण योगदान दिन्छ । फुटबल विश्वमा अधिक रुचाइएको खेल हो । हामीले दिएको सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ । यसरी छानिएका खेलाडीले भोलि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा हो ।”

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले, खेल जीवनमा प्रवेश गरेका धेरै मानिसहरू पेसा परिवर्तन गरेको दृष्टान्त दिँदै, आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले खेलमा प्रवेश गरेको व्यक्ति बाहिरिनु नहुने बताउनुभयो । 

“खेलबाट देशको गौरव बढाउने खेलाडीको मनोबल उच्च बनाउन राज्यको तर्फबाट लगानी थप्दै जानुपर्छ ।” उहाँले भन्नुभयो, “महानगरले जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छ ।”

खेल जीवनलाई बढाउन महानगरको लगानीबाट क्रमशः प्रतिफल प्राप्त हुँदै गएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालको भनाइ थियो । 

“ए डिभिजन क्बबहरु मध्ये जित्ने क्लबलाई महानगरले थप सहयोग गर्नुपर्छ । पराजय भोगेका र विजय हासिल गरेकालाई एकै प्रकारको सहयोग भयो भने जित्नेलाई थप हौसला हुँदैन ।” मच्छिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीले भन्नुभयो, “खेल जितेपछि अर्को खेलको तयारी र प्रतिस्पर्धा गर्नुपर्ने भएपछि थप खर्च चाहिन्छ । क्लबले प्राप्त गर्ने रकमसँगै खेलाडीलाई व्यक्तिगत रूपमा पनि सहयोग होस् ।”

काठमाडौँमा अहिले मच्छिन्द्र क्लब, सङ्कटा क्लब, हिमालयन शेर्पा क्लब, मनाङ मर्स्याङ्दी, एन आर टी क्लब गरी ए डिभिजनका ५ वटा फुटबल क्लबहरू छन् । यसअघि सरस्वती क्लब पनि ए डिभिजनमा पुगेको थियो । पछि यो क्लब ए डिभिजनबाट बि डिभिजनमा गयो । 

महानगरले उपलब्ध गराएको रकम क्लबहरूले खेलकुद प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्लबहरूले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल ब्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानुन विपरीत क्लबले काम गरे सम्झौता स्वतः खारेज हुनेछ । 

सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार ए डिभिजन क्लबहरूलाई २०७५ साल भदौ २५ गते ९ लाख ३० हजार रुपैयाँका दरले  सहयोग रकम उपलब्ध गराएर सहयोग सुरु गरिएको थियो । 

यसैगरी २०७६ वैशाख २३ गते बि र सी डिभिजन क्लबलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो । त्यसपछि सम्झौताअनुसार सर्त र प्रगतिका आधारमा महानगरले सहयोग गर्दै आएको छ । 

खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको छ । 

महानगर आफैँले बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र सञ्चालन गरेको छ । सामुदायिक विद्यालयलाई खेलकुदमैत्री बनाउन पूर्वाधारमा लगानी बढाएको छ । यसैगरी फुटबलसहित विविध विधाका खेलकुदलाई सहयोग गरिरहेको छ । 

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ५५ बजे