एमसीसी प्रस्ताव पेस गर्नु पर्ने भएपछि अर्थमन्त्री त्यसलाई छल्न उपत्यका बाहिर

काठमाडौँ । प्रतिनिधिसभाको  आजको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । 

सरकारले  गत आइतबार एमसीसी टेबल गरेको र छलफलका लागि आजका लागि प्रतिनिधिसभाको बैठक तय भएको छ ।

आजको संसद् बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौता बारे  छलफल गर्ने रहेको छ । 

जसलाई संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ  ।

यसअघि आइतबार पनि उहाँले संसद्मा एमसीसी टेबल गर्नु पर्ने थियो । तर उहाँको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन् ।  तर अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उहाँ बैठकमा नै उपस्थित हुनु भएन । उहाँ उपस्थित  नभएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी टेबल गर्नुभएको थियो । 

आज एमसीसीका बारेमा उठेका प्रश्नहरूको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर जानुभएको छ ।  जसका कारण सर्वाधिक चासो रहेको एमसीसीबारे संसद्मा बहस हुँदा सम्झौताको एक पक्ष अर्थ मन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ । 

उहाँ एमसीसी सम्बन्धी प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर जानुभएको छ । अर्थमन्त्री शर्मा पर्वत उद्योग वाणिज्य सङ्घको आज हुने साधारण सभामा सहभागी हुन कुश्मा पुग्नुभएको छ ।

उहाँको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ०६ बजे