जनताको बहुदलीय जनवादको एघारौँ विशेषता – क्षतिपूर्ति

नेपाली कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले संसारमा अवलम्बन गरिएका लोकतान्त्रिक दृष्टिकोणहरू, मानवनजातिद्वारा सिर्जित सामाजिक मूल्य एवं मानव अधिकारका विश्वव्यापि अवधारणाहरूलाई अँगाल्दै समानतामा आधारित शोषणरहित मुलुक बनाउने सोच अगाडि सारेको छ ।

सन् १९१७ मा भएको सोभियत समाजवादी क्रान्तिको सफलतापछि स्थापित विश्व समाजवादी प्रणालीलाई समेत थप सुदृढ तुल्याउन भूमिका निर्वाह गरिसकेको माक्र्सवादको सिर्जनात्मक रूप जबज नेपालमा सामाजिक–आर्थिक रूपान्तरण गर्नसक्ने सिद्धान्तको रूपमा विकसित भएको छ । समग्रमा राष्ट्रको विकास गर्नसक्ने यस आमूल परिवर्तनकारी सिद्धान्तको व्यावहारिक प्रयोगसहित मुलुक अहिले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न अग्रसर बनिरहेको छ ।   
 
देशमा सामन्तवाद–साम्राज्यवादले लादेका अनेकौँ किसिमका शोषण–उत्पीडन तथा विकृति एवं विसंगतिलाई निर्मूल पार्ने दृष्टिकोण अवलम्बन गरेको आधुनिक विश्व परिवेश अनुकूलको सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरूमा लोकतान्त्रिक विधि एवं पद्धतिअन्तर्गत संघर्षका विविध रूपहरूको प्रयोग गर्दै सुन्दर समाज बनाउनु हो । विश्व कम्युनिष्ट आन्दोलनले व्यहोर्न बाध्य हुनुपरेका असफलताका पीडाहरू र सफलताका अनुकरणीय कथाहरूको वस्तुनिष्ट समिक्षा गर्दै विकसित भएको नवीन चिन्तन जबजका मूलभूत विशेषताहरू भनेका विभिन्न देशहरूमा लोकतन्त्र र मानव अधिकारको अभ्यास गर्ने सन्दर्भमा हासिल भएका उपलब्धी, विश्वमा माक्र्सवादको पहिलो प्रयोग भई विकसित भएको सोभियत नमूनाको समाजवादले खाएको गम्भीर धक्काबाट प्राप्त नकारात्मक शिक्षा र विश्व कम्युनिष्ट आन्दोलनले अहिलेम्म हासिल गरेका महत्वपूर्ण उपलब्धीजस्ता विषयहरूबाट उत्पन्न भएका हुन् । ती विशेषताहरू—संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् । यस आलेखमा जबजका थप मौलिक विशेषताहरू मध्ये ‘क्षतिपूर्ति’ को मूलभूत अवधारणा बारे संक्षेपमा चर्चा गर्ने कोशिस गरिएको छ ।

जनताको बहुदलीय जनवादी क्रान्तिको आधारभूत प्रस्थापना भनेको सामन्ती उत्पादन सम्बन्धलाई समाप्त पारेर जमिनको न्यायोचित वितरण र भूमिबाट उत्पादन र उत्पादकत्व बृद्धिका निम्ति भूमिको सदुपयोग गर्नु र राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको दिशामा मुलुकलाई अग्रसर गराउनु हो । अनि साम्राज्यवादी नवउपनिवेशवादी शोषण उत्पीडन तथा हस्तक्षेपलाई निस्तेज पार्दै स्वतन्त्र, सवल र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्नु हो ।

यस प्रयोजनका निम्ति सहज र सरल तरीका भनेको परिवर्तनको पक्षमा जनआकर्षण पैदा गर्दै वर्गीय शोषण तथा विभेद निर्मूल पार्न अग्रसर हुनु हो । सामाजिक क्रान्ति वा परिवर्तन वर्गीय थिचोमिचोमा परेकाको हितका निम्ति एउटा जटिल र महान कार्य भएकाले जस्तो सुकै हिंसा र बल प्रयोग पनि स्वीकार्य हुन्छ भन्ने मान्यता विगतमा कम्युनिष्ट आन्दोलनमा व्याप्त रहेको थियो । जति बढी वर्गीय घर्षण र द्वन्द्व, अस्थिरता र अस्तव्यस्तता हुन्छ त्यति नै बढि ‘क्रान्तिकारी’ कार्य हो भन्ने दृष्टिकोणले जबर्जस्त घर गरेको थियो ।  

जडसूत्रवादी दृष्टिकोणबाट हेर्दा र विगतमा भएका अभ्यासलााई सन्दर्भको रूपमा लिँदा समाज रूपान्तरणका लागि जोरजबरजस्ती नै उपयुक्त बाटो हो कि भन्ने भ्रम पनि फैलियो । तर माक्र्सवादको सिर्जनात्मक प्रयोगको कोणबाट जननेता भन्नु हुन्छ “हामीले नयाँ समाज निर्माणका निम्ति आमरूपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छाँै । सामन्ती शोषण, सामन्ती भूस्वामित्व र सामन्तवादलाई समाप्त पार्ने हाम्रो क्रान्तिको एउटा आधारभूत उद्देश्य हो । हामीले नयाँ समाज निर्माण गर्नका निम्ति आमरूपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छाँै ।” सहिष्णुता, सद्भाव र शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाको माध्यमद्वारा क्रान्तिको विजय र दीगोपनका निम्ति सकेसम्म सबैलाई डो¥याएर अघि बढ्ने दृष्टिकोण जबजले लिएको छ ।  

हजाराँै वर्षदेखि सामन्ती वर्गीय शोषण तथा उत्पीडन एवं जब्बर ढंगले गढेर रहेको व्यक्तिवादी संस्कृति एवं परम्परा अनि विभिन्न किसिमका विकृति र विसंगतिबाट समाजलाई बाहिर निकाल्न समाजको मूल दुश्मनका विरुद्ध अभियान चलाएर सकेसम्म सबैलाई परिवर्तनका निम्ति उपयोग गर्नुपर्दछ भन्ने मान्यता जबजको हो । असल कामका निम्ति असल तौरतरिका र पद्धति नै अवलम्बन गर्नुपर्दछ भन्ने दृष्टिकोण जबजको हो । सामन्तवादी सामाजिक चरित्रका विरुद्धमा प्रहार केन्द्रित गर्नका लागि “सामन्ती भूस्वामित्व समाप्त गर्ने, कानूनद्वारा नयाँ हदबन्दी निश्चित गर्ने, क्रान्तिकारी भूमिसुधार गर्ने, यसक्रममा क्रान्तिको समर्थन गर्नेहरू, धनी र मध्यम किसानहरूको हदभन्दा बढी जमिन र दोहोरो स्वामित्वको अन्त्य गर्दा साना भूस्वामिहरूको जमिनको कानूनसम्मत यथोचित क्षतिपूर्ति दिने नीति” जबजले अगाडि सारेको हो । मानव अधिकारका आधारभूत मूल्यहरूलाई आत्मसात गरेको जबजले विगतमा जस्तो क्रान्तिद्वारा स्थापित भएको सत्ताले जे चाह्यो त्यही गर्न पाउनु पर्दछ भन्ने वकालत गरेको छैन । बरु कानूनसम्मत नै द्वन्द्व व्यवस्थापन गर्नुपर्दछ भन्ने मान्यतालाई सुदृढ तुल्याएको छ ।  

जबजले अख्तियार गरेको नीति भनेको सामन्तवादलाई समाप्त गर्ने त हुँदै हो तर अर्थतन्त्रलाई सधैँभरि कृषिमा आधारित नै बनाइरहने चाहिँ होइन । कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै थोरै भन्दा थोरै जनसंख्यालाई मात्र कृषि पेशा अलम्बन गर्ने अवस्थातर्फ लग्दै राष्ट्रिय उद्योगधन्दाको विकास गरी मुलुकलाई औद्योगिकीकरण गर्दै आफ्नो देशलाई चाहिने आधारभूत औद्योगिक सामग्रीहरू सकेसम्म स्वदेशमै उत्पादन गर्नुपनि हो ।

यसका लागि जबजको दृष्टिकोण भनेको जननेताले भनेझैँ “नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र अझ त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दारहरूबाहेक अरुलाई क्षतिपूर्ति दिएर हामी उद्योग, व्यापार–व्यसायतर्फ स्थानान्तरित गर्न चाहन्छौँ । यो नयाँ समाज निर्माण गर्न सबैलाई सकारात्मकढङ्गले योगदान पु¥याउन गरेको आव्हान हो र शान्तिपूर्णढङ्गले योगदान पु¥याउन गरेको आव्हान हो र शान्तिपूर्णढङ्गले सामन्ती भूस्वामित्वको अन्त्य गर्ने चाहनाको अभिव्यक्ति पनि हो ।” 

विश्वमा देखिएका समाज परिवर्तन निम्तिका आन्दोलन भनौँ वा क्रान्ति भर्नौँ तिनका विरुद्धमा समाजमा एउटा यस्तो दुषित तत्व हुन्छ त्यो जतिनै गरेपनि चेत्दैन र परिवर्तनको प्रवाहलाई समाउँदैन बरु उल्टै आमजनताको साथ र सहयोगमा प्राप्त भएको नयाँ व्यवस्थाका विरुद्ध अनेकौँ वितण्डा मच्चाउन उद्यत हुन्छ । अनि प्रतिगमनको योजना बनाउँदै षड्यन्त्रमा सामेल हुन्छ ।

बहुसंख्यक जनताको शान्तिपूर्ण पहलमा स्थापना भएको नयाँ समाजलाई अझ उन्नत दिशामा लैजान तगाराहरू पैदा गर्दछ । यस्तो अवस्थामा “प्रगतिशील अग्रगतिको विरोध गर्ने सामन्ती जमिन्दारहरूमाथि बल प्रयोग गर्नुपर्ने अनिवार्यता र बल प्रयोग गरिएकाहरूको क्षतिपूर्ति नपाउने कुरा पनि स्वतः स्पष्ट छ” भनेर जबजले आफ्नो कार्यनीतिमा एउटा नयाँ पक्ष समाविष्ट गरेको छ । 

जबज माक्र्सवादको विकसित रूप हो । यो सिद्धान्तले वर्गीय पक्षधरताको दृष्टिकोण अवलम्बन गर्दै समाजबाट सबै किसिमका वर्गीय, जातिय र लिङ्गिय अन्तरविरोध र विभेदहरू समाप्त पार्ने कार्यक्रम अगाडि सारेको छ । विश्वभर माक्र्सवाद विरोधी र सामाजिक क्रान्ति असफल पार्ने तत्व अनेकौँ जालझेल षड्यन्त्रमा लिप्त रहेको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । विश्व समाजवादी प्रणाली कमजोर बनेको छ । 

सूचना प्रविधिका क्षेत्रमा भएको अभूतपूर्व विकासले भूमण्डलीकरण प्रक्रियालाई तीब्र तुल्याउँदै विश्व जनमानसलाई नजिक तुल्याएको छ । देशहरू अन्तरनिर्भर बनिरहेका छन् । यस परिवेशमा वर्गविहिन समाज निर्माण गर्नुपर्ने दायित्व कम्युनिष्ट आन्दोलन सामू छ । जडसूत्रवादी र कठमूल्लावादी प्रवृत्तिले यी यावत प्रकारका अन्तरविरोध र जटिलतालाई चिरेर जाने कुरा कल्पना पनि गर्न सकिँदैन ।

त्यसैले जबजले सकेसम्म सबैलाई परिवर्तनका निम्ति साथमा लिएर जाने र बैरीहरूको दायरालाई साँघुरो बनाउने दृष्टिकोण अवलम्बन गर्दै ‘क्षतिपूर्ति’ को विशिष्ट अवधारणा विशेषताका रूपमा प्रस्तुत गरेको हो । सर्वहारा श्रमजीवि वर्गीय पक्षधरता आत्मसात गरेको जबजको ‘क्षतिपूर्ति’ सम्बन्धी दृष्टिकोण क्रान्तिकारी मूल्यसहित व्यावहारिक पनि छ । 

क्रमश…

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १० : २९ बजे