एमालेको सचिवालय बैठक सुरु

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीले भन्नुभयो, आफूहरूको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गर्नुभएको छ । 

मङ्गलवार साँझ बालुवाटार पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूसँग प्रधानमन्त्री देउवाले करिब दुई घण्टा छलफल गर्नुभएको थियो। 

प्रधानमन्त्रीले भेटका क्रममा  गठबन्धन भित्रबाट आफूलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभएको नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धन भित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो उहाँले भन्नुभयो  । 

एमाले अध्यक्ष ओलीले भने आफूहरूको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो

“हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरू राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ” उपप्रमुख रिजालले भन्नुभयो । 

भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी सहभागी हुनुहुन्थ्यो । 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : २० बजे