मुलुक सङ्गिन मोडमा उभिएको छ– महासचिव पोख्रेल

देउखुरी – नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमसीसी परियोजनाका बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको बताउनुभएको छ । दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उहाँले पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताउनुभयो ।

    “सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन”, उहाँले भन्नुभयो, “पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन ।” 

एमसीसीका नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गदै उहाँले एमसीसीको मस्यौदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताउनुभयो । “प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ तर, अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । 

मुलुक सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताउनुभयो । “हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प र अठोटका साथ निरन्तररूपमा अघि बढेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ५१० व्यक्ति एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट १०५, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् । पार्टी महासचिव पोख्रेलले उनीहरूलाई पार्टी प्रवेश गराउनुभयो ।

रासस 
 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : ५२ बजे